Logo

टिप्पणी

पश्चिम नेपालमा ठूलो भूकम्प जाने पूर्वानुमान



पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ। डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भूभागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको छ । यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ । तर पटकपटकको धक्काले सञ्चित रहेको भूकम्पको शक्ति कम हुँदैन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा र भारतसँग जोडिएका भूभागमा कुनै पनि समय आठ म्याग्निच्युडभन्दा ठूलो भूकम्प जाने प्रक्षेपण गरेको छ । वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले त्यति ठूलो भूकम्प केही वर्ष वा दशकभित्र जान्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए । उनले भने, “जुन दिन शक्ति धान्न नसकिने अवस्थामा पुग्छ त्यही बेला धर्तीबाट भूकम्पको स्वरूपमा शक्ति बाहिर निस्कन्छ ।”

त्यस भेगमा करिब पाँच सय वर्षयता ठूलो भूकम्प गएको छैन । त्यसैले पनि ठूलो भूकम्प जाने सम्भावना बलियो हुँदै गएको तर्क भूकम्पविद्हरूको छ । बाजुरामा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म लगातार चारवटा भूकम्प गए। पाँच दिनअघि पनि भूकम्प गएको थियो ।

बिहीबार राति करिब १२ बजे पहिलो भूकम्प ४.९ म्याग्निच्युडको थियो भने बिहान साढे एक बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । शुक्रबार बिहान पाँच बजेर ५७ मिनेटमा ३.९ म्याग्निच्युड र बिहान नौ बजेर २५ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गयो । यो क्रम जमिनमुनिको शक्ति ठूलो भूकम्पका रूपमा बाहिर ननिस्किएसम्म जारी रहने केन्द्रले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ६ : ४४ बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।