काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् ।
‘नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताएका हुन् ।
“नेपालको अर्थतन्त्र श्रीलंका जस्तो टाट पल्टिन लाग्यो भनेर गतवर्ष जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो आतंक त्यति छैन । हामी अहिले श्रीलंकाको उदाहरण दिँदैनौं”, प्रधानमन्त्री प्रचण्डले भने, “अर्थतन्त्रको समस्या गम्भीर छ । तर हामी आतंकित हुनुपर्ने अवस्था छैन । यसलाई कसरी सहज तुल्याउने भन्नेतर्फ सरकार केन्द्रित छ ।”
अर्थतन्त्रको खराब अवस्था चलिरहँदा सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिलाई तीव्र बनाउन लाग्नुपर्ने प्रचण्डले बताए ।
संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको पनि प्रधानमन्त्रीको भनाइ छ । “विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिमार्फत् आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ । विभिन्न चुनौतीका बाबजूद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन्”, उनले भने ।
सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने पनि प्रधानमन्त्री प्रचण्डले बताए । कृषि, पर्यटन, जलविद्युत् र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै गर्दा घरेलु उत्पादन बढाउनु, निर्यातमा सुधार ल्याउनु र अर्थतन्त्रलाई उत्साहित बनाउनु सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ ।
अर्थतन्त्रका बृहत् आर्थिक सूचक सकारात्मक बनाउन गरिने पहलबाट तरलता अभाव टारिने र वैदेशिक विनिमय सञ्चिति बढ्दै जाने हुनाले यसतर्फ सरकार गम्भीर रहेको प्रचण्डले बताए ।




















प्रतिक्रिया