सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिका अध्यक्ष बिमर्श मोक्तानले ‘एसिस्टेन्ट’ परीक्षार्थी राखेर परीक्षा दिएको आरोप लागेको छ ।
कपिलाकोट माध्यामिक विद्यालय महेश्वता परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिइरहेका मरिण गाउँपालिका अध्यक्षले परीक्षामा ‘एसिस्टेन्ट’ राखेर परीक्षा दिएको आरोप लागेको हो । तर यसको पुष्टि भने भएको छैन । केही विद्यार्थी संगठनका नेताहरुले उनलाई यस्तो आरोप लगाएका हुन ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी प्रमुख तथा जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख निर्मल घिमिरेसहितको टोलीले परीक्षा केन्द्रबाट परीक्षार्थीभन्दा एक कपी बढी उत्तर पुस्तिका भेटिएको बताएका छन् ।
‘एकै सिम्बोल नम्बर भएका दुईवटा कपी भेट्टिएको छ । प्रहरीले मुचुल्का उठाएर जनकपुरको राष्ट्रिय परीक्षा बोर्ड शाखामा पठाएका छौं’, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख निर्मल घिमिरेले भने, ‘सिम्बल नम्बर जुधेका दुईवटा उत्तरपुस्तिका रद्व गरेका छौं । हामीले राष्ट्रिय परीक्षा बोर्ड जनकपुरलाई पठाएका छौं । अब परीक्षा बोर्डले कसरी काम गर्छ, उसैलाई थाहा हुन्छ ।’
परीक्षामा थप उत्तर पुस्तिका कसको आएको हो भन्ने प्रश्नमा उनले स्पष्ट उत्तर दिएनन् । थप उत्तर पुस्तिका ल्याउने व्यक्तिको पहिचान गरेर कारबाही गर्नुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘हामीले रद्व गर्यौ । हामीले राष्ट्रिय परीक्षा बोर्डलाई पठाएका छौं । अब उहाँहरुले कसरी कारबाही अगाडी बढाउनुहुन्छ। के गर्नुहुन्छ । त्यो उहाँहरुको कुरा हो ।’ उनले रद्व गरिएको परीक्षाका दुवै उत्तरपुस्तिकाहरु सिल गरेर प्रहरीले लगेको बताए । उनले अरु परीक्षा निरन्तर हुने बताए । आज कक्षा १२ को सामाजिक विषयको परीक्षा रहेको थियो ।
गाउँपालिका अध्यक्ष र थप भेटिएको उत्तर पुस्तिकाको सिम्बोल नम्बर एउटै भेटियो भने के हुन्छ भन्ने प्रश्नमा घिमिरेले भने, ‘प्रहरी प्रशासनले कारबाही गर्न चाह्यो भने कारबाही हुन्छ ।’ केही अघि परीक्षा केन्द्रमा जाँदा गाउँपालिका अध्यक्ष आफैँले परीक्षा दिइरेको आफूहरुले देखेको घिमिरेले अनलाइन पानालाई बताए । सिन्धुृलीका सिडिओ सुनिता नेपालले पनि परीक्षा केन्द्रमा एक उत्तर पुस्तिका बढी भेटिएकाले सम्बन्धित निकायमा जाँच गर्न पठाएको बताइन । ‘परीक्षा सक्किएको थियो । उत्तर पुस्तिका गन्ने बेलामा पुगेको हो हामी । पहिला पनि गएका थियौं । पहिला राम्ररी परीक्षा चलिरहेको थियो । त्यस्तो केही थिएन’, नेपालले भनिन, ‘पछि चाहिँ उत्तर पुस्तिका बढी भेटिएको हो ।’ सिम्बोल नम्बर जुधेको विषयमा आफूले ‘कन्फर्म’ नगरेको नेपालले बताइन ।
विद्यालय भएको स्थानका एक स्थानीय गोपाल बुढाथोकीले पनि परीक्षा सकिएपछि एउटै सिम्बोल नम्बर भएको दुईवटा उत्तर पुस्तिका भेटिएको र उक्त सिम्बोल नम्बर गाउँपालिका अध्यक्षको सिम्बोल नम्बरसँग मिल्न गएको जानकारी पाएको बताए । उनका अनुसार दुईवटा उत्तर पु्स्तिका भेटिएको र केही शिक्षकहरुले एउटा ‘क्यान्सिल’ गरेर घटना मिलाउने प्रयत्न गरेको तर प्रहरीले नमानेकाले जिल्ला प्रहरी प्रमुखलाई खबर भएको र घटना बाहिरिएको हो । उनले भने, ‘सिडिओ, प्रहरी प्रमुखलगायतको टोली आउनु भएछ । आएर ढोका लगाएर छलफल गर्नुभयो । हामी जिल्लामै लगेर छलफल गछौं भन्नुभएको थियो। पुस्तिकामा के लेखिएको छ, थाहा भएन ।’
सिन्धुली जिल्लाका अनेरास्ववियू उपाध्यक्ष प्रशान्त लुङ्गेलीले गाउँपालिका अध्यक्षलाई लागेको आरोपमा नियमअनुसार कारबाही अगाडि नबढाएको भन्दै विरोध जनाएका छन् । उनले घटनाको स्पष्ट छानबिन गरेर दोषीलाई परीक्षा दिनलाई बन्देज लगाउनुपर्ने बताए । अर्का स्थानीय पूर्व विद्यार्थी नेता दिपेश बरालले पनि घटना सामसुम पार्न खोजिएको बताए। उनले आरोप लागिसकेपछि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष बिमर्श मोक्तानले भने आफूले कुनै ‘एसिस्टेन्ट’ नराखेको बताए । उनले भने, ‘अस्तिदेखि म आफैँ गाउँपालिकाकै गाडी लिएर जाने । परीक्षा दिने । परीक्षा सकिएपछि गाडी लिएर आउने गरिरहेको थिए । आज पनि त्यही गरेँ । म विदालयबाट बाहिरिएको करिब पैतालिस मिनेटपछि त्यहाँ गन्दा एउटा कपी बढी निस्क्यो रे । त्यही कुरालाई चाहिँ मेरो चाहिँ जफत गर्यो भन्ने कुरा बाहिर ल्याएको छ।’
आफू परीक्षार्थीसँगै बसेर परीक्षा दिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए । उनले पनि आफ्नो र परीक्षा केन्द्रमा थपिएको थप उत्तरपुस्तिकामा विवाद देखाइएको बताए । मोक्रानले गएको चार वर्ष अगाडिदेखि कक्षा १० देखि नै निरन्तर परीक्षा दिँदै आएका छन् । आफू पढ्न विद्यालय जान नपाए पनि परीक्षा घरमै पढेर परीक्षा दिने गरेको गाउँपालिका अध्यक्षले बताए । उनले पढाई महत्वपूर्ण रहेकाले आफू पढिरहेको बताए । मोक्तान माओवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन । उनले आफूलाई अनपढ भनेर राजनीतिमा प्रतिपक्षी दलहरुले नारा लगाएकाले पढेर सर्टिफिकेट लिने चाहना भएको बताए ।
प्रतिक्रिया