Logo

अर्थ

कर्णाली प्रदेश : बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही



कर्णाली । कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आज पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरिएको बताएका हुन् ।

कारवाही गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि आयोगले प्रेस विज्ञप्तिमार्फत मुख्य भूमिकामा नरहेका कर्मचारीलाई कारबाही गरेको जनाएको छ । उपाध्यक्ष शाहीले भने, “तल्लो तहका कर्मचारीबाट बजेट निर्माणमा आर्थिक मामिलामन्त्रीलाई दबाब र प्रभाव पार्न खोजिएको छ । ती कर्मचारीले दिएको अभिव्यक्ति र संवाद आयोगको आधिकारिक नभई निज कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणाको उपज मात्र हो । आर्थिक मामिलामन्त्रीको अभिव्यक्ति र प्रकाशित समाचारका लागि जिम्मेवार रहेका कर्मचारीलाई कानूनबमोजिम कारबाही गरिसकिएको छ ।”

उनका अनुसार मुख्य भूमिकामा रहेका कुनै पनि पदाधिकारी तथा कर्मचारीको त्यसमा संलग्नता छैन । आयोगसँग सम्बद्ध कुनै पनि व्यक्तिले प्रचलित कानून उल्लङ्घन गरी गल्ती र आचरणविरुद्धको कार्य गरेमा शून्य सहनशीलताको नीति अपनाइने समेत उनले बताए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार २१:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।