Logo

धर्म / संस्कृति

पशुपतिनाथ मन्दिरभित्रको जलहरी झिकियो, परीक्षणमा अख्तियारको टोली



काठमाडौं । पशुपतिनाथ मन्दिर भित्र शिवलिङ्गमा राखिएको सुनको जलहरी जाँचबुझको लागि आज निकालिएको छ । सुनको जलहरी निर्माणको विषयमा भ्रष्टाचार भएको आशंकामा पशुपतिनाथ मन्दिरको जलहरी जाँचबुझको लागि निकालिएको हो ।

मन्दिरबाट निकालिएको जलहरीलाई मन्दिर परिसरमा जोखिने बताइएको छ । नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरुलाई राखिएको छ । पशुपतिनाथ मन्दिरमा प्रहरी, सेनाको टोलीले सुरक्षा पनि दिएको छ । जलहरी नापजाँचका लागि अझै केही समय लाग्ने जनाइएको छ । जलहरी खोलेर सफा गर्न समय लाग्ने भएकाले पनि यसको नापजाँचको लागि समय लागेको हो ।

उक्त सुनको ‘क्वालिटी’ र ‘क्वान्टिटी’ जाँचको लागि अख्तियारले काम थालेको हो । अख्तियारमा सुनको जलहरी बनाउँदा सुन हराएको आशंका गरिएको छ । जलहरी बनाउँदा सुन हिनामिना भएको हुनसक्ने आशंकामा जलहरी निकालेर पुनः तौल लिन लागिएको हो । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन सुरु गरेको हो । संसदमा समेत यसबारे प्रश्न उठेको थियो । अतियार दुरुपयोग अनुसन्धान आयोगले सुनको परीक्षण गर्न खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू समेतको संलग्नता गराउने जनाएको छ । उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा पशुपति विकास कोषकै पदाधिकारी संलग्न रहेको आरोप लागेको छ । २०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेर करिब १ अर्ब रुपैयाँमा सुनको जलहरी राख्ने घोषणा गरेका थिए । घोषणा अनुरुप सरकारले ३० करोड रुपैयाँ दिएको थियो। त्यस लगत्तै पशुपति क्षेत्र विकास कोषले विभिन्न दाताबाट समेत आएको पैसा सरकारले दिने रकममा थपेर १ सय ८ केजी परिमाणको सुनको जलहरी बनाएर पशुपति मनिदरको शिवलिङ्गमा राखेको थियो ।

जलहरी निर्माणको प्रक्रियाबाट बाहिर राखिएका कोषका पाँच सदस्यले हिसाबकिताब माग्दा पदाधिकारीले नदिएको भन्दै जलहरी निर्माणमा अनियमितता भएको आशंका गरिएको हो । अख्तियारले आज दिउँसो ३ बजेपछि जलहरी बनाइएको सुनको परीक्षण गर्ने भन्दै दिउँसो ३ बजेबाटै पशुपति मन्दिरभित्र नागरिकलाई प्रवेश निशेध गरेको छ । अहिलेजलहरी निकाल्ने र त्यसलाई सफा गर्ने काम भइरहेको छ । जलहरी कति छ भन्ने विषय आजै परीक्षण गर्ने आयोगको तायारी रहेको छ ।

 

यो पनि पढ्नुहोस्

पशुपतिनाथकाे जलहरी जाेख्न भन्दै खाली गरियाे मन्दिर परिसर

पशुपति विकास कोष भन्छ– ‘जलहरी बनाउँदा सुन हराएको छैन, सुरक्षा दिएर राखिएको छ’

पशुपति विकास कोषका सदस्यसचिव थापाले रुँदै भने : ‘मैले न्याय पाउन आत्महत्या गर्नुपर्ने हो ?’

तस्बिरहरु: तेज किराँती

प्रकाशित मिति : १० असार २०८०, आईतवार १९:२४   :  बजे

609
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।