Logo

बागमती प्रदेश

बाँदर पीडित किसानहरूले घेरे बागमती प्रदेश सभा सचिवालय



मकवानपुर- आफूहरूले लगाएको बाली बाँदरका कारण असुरक्षित भएपछि बाँदर पीडित किसानहरू बस रिजर्भ गरेर बागमती प्रदेश सभा सचिवालय घेर्न आइपुगेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको गृहजिल्ला धादिङका किसानहरू बागमती प्रदेशसभा भवनअगाडि नाराबाजी गरेका छन् । बागमती प्रदेशसभा भवन अगाडि बुधबार मुख्यमन्त्री जमकट्टेलको गृहजिल्ला धादिङका किसानहरूले बाँदर आतंक नियन्त्रण गर्न सरकारविरुद्ध नाराबाजी गरेका हुन ।

धादिङको नीलकण्ठ नगरपालिका सिद्धलेक गाउँपालिकालगायत १५० भन्दा बढी किसानले बाँदर नियन्त्रण गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

यसअघि पटक पटक आफूहरूले बाँदरको समस्याबारे जानकारी गराएको भए पनि प्रदेश सरकारले समस्या निराकरणको लागि पहल नगरेको भन्दै उनीहरूले प्रदेशसभा सचिवालयमै आएर गुनासाे सुनाएकाे बताए  ।

पीडित किसानले ‘किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन, बादर आतंक बन्द गर, प्रदेश सरकार कहाँ छ, बाँदरपीडित यहीँ छ’ लगायत नारा लगाएका थिए । प्रदेशसभा भवनअगाडि नाराबाजी गरेपछि मुख्यमन्त्री जमकट्टेलले किसानहरूलाई छलफलका लागि बोलाए ।

दुईवटा बस रिर्जभ गरेर हेटौंडा आइपुगेका करिब १५० जना किसानहरूले बाँदरले जनजीवनमा समस्या पार्दासमेत प्रदेश सरकार गम्भीर नबनेको बताए । धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानहरूले अन्तर्राष्ट्रिय कानुन देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिसरमा प्रदर्शन गरेका हुन् ।

बाँदर आतंकको कारण ठूलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडितहरूको आरोप छ । मकवानपुरमा राक्सिराङ, मकवानपुरगढी लगायतको गाउँपालिकामा बाँदरको कारण समस्या भएपछि गाउँपालिकाहरूले बाँदर तर्साउन बन्दुक वितरण गरेको थियो । तर, यो प्रभावकारी नभएको उनीहरूको गुनासो छ ।

 

 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार २०:५८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।