काठमाडौं । कोशी प्रदेशसभाबाट विश्वासको मत नपाएका मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएसँगै नेकपा एमाले केन्द्र र सात प्रदेश सरकारबाट बाहिरिएको छ ।
गत पुस १० गते केन्द्रमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा सत्ता गठबन्धन बनेपछि सात मध्ये ४ प्रदेशमा एमालेले सरकार नेतृत्व गरेको थियो ।
एमालेका खगराज अधिकारी गण्डकी, लिला गिरी लुम्बिनी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए ।
फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा केन्द्रमा नयाँ समिकरण बनेपछि प्रदेशमा एकपछि अर्को गर्दै एमाले नेतृत्वका सरकार ढलेको हो । गण्डकीका मुख्यमन्त्री अधिकारी वैशाख ९ गते सरकारबाट बाहिरिएका थिए भने लुम्बिनीका मुख्यमन्त्री गिरी नेतृत्वको सरकार वैशाख ११ गते ढलेको थियो ।
मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् । वागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे, लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री रहेका छन् ।
गत मंसिरमा भएको आमनिर्वाचन अघि पनि एमाले सातै प्रदेश र केन्द्रको सरकारबाट बाहिरिएको थियो ।





















प्रतिक्रिया