Logo

प्रमुख समाचार

ललिता निवास क्षेत्रमा घर नबनाउन र बनिरहेको भए तत्काल रोक्न कामनपाको निर्देशन

अटेर गरेर घर निर्माण नरोके त्यस्ता घर भत्काइने, भत्काएको लागत समेत सम्बन्धितसँग लिने



काठमाडौं । काठमाण्डौं महानगरपालिकाले वडा नम्बर ४ बालुवाटारमा रहेको ललिता निवास क्षेत्रभित्र घर निर्माणका लागि नक्सा पास नगरिदिने भएको छ ।

त्यस्तै त्यहाँ बनिरहेका घर तत्काल जस्तो अवस्थामा छ त्यही अवस्थामा रोक्न महानगरपालिकाको निर्देशन रहेको छ। महानगरपालिकाले अब त्यहाँ घर बनाए अथवा बन्दै गरेको घरलाई निरन्तर बनाउँदै लगे त्यस्ता घर भत्काउने बताएको छ। भत्काउँदा लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गराइने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै नक्सा पास भएरै त्यहाँ बन्दै गरेका घरको पनि निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको हो ।

महानगरपालिकाले दुई दिन अघिमात्रै ललिता निवास क्षेत्रमा गएर त्यहाँको सार्वजनिक जग्गा खाली गर्न र बनेका संरचना पनि हटाउन निर्देशन दिएको हो । ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिका नाममा बिक्री वितरण भएको भेटाइएपछि सरकारले अहिले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

पञ्चायतकालमा सरकारले सुवणर्समशेरलाई राजद्रोहको अभियोग लगाएर उनको नाममा भएको ललितानिवासको १४ रोपनी जग्गा जफत गरेको थियो। ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गरेको थियो । बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरे। सरकारले पैसा दिएर अधिगृहण गरिएको भनिएको जग्गा पनि वि.स. २०४७ सालमा मालपोत कार्यालयले छानबिन नगरी सोझै १ सय १३ रोपनी जग्गा सुवणर्शमसेरका हकवालाको नाममा सारिदिएको छ । यहीँदेखि विभिन्न भूमाफियाले सरकारी जग्गा चर्चेर बेचेको तथा सरकारी जग्गामा भवन निर्माण गरेको देखिन्छ ।

भवन निर्माण गर्न काठमाडौं महानगरपालिकाले नक्सा पास पनि गरिदिसकेको छ । तर अब भने उक्त क्षेत्रमा भवन निर्माण गर्न काठमाडौं महानगरपालिकाले नक्सा पास नगरिदिने भएको हो । महानगरले त्यहाँ निर्माण हुँदै गरेका भवनको काम पनि तत्काल रोक्न निर्देशन दिएको हो । काम नरोके महानगरले निर्माण हुँदै गरेका संरचना नै भत्काइदिने बताएको छ । महानगरपालकाले भत्काउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिमार्फत असूल उपर गर्ने समेत जनाएको छ ।

सरकारले ललिता निवासको सरकारी जग्गाको विषयमा चलखेल गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ । सीआईबीको टोलीले यस विषयमा अहिले काम गरिरहेको छ । राणाहरू ५० को दशकमा ललिता निावासको जग्गा फिर्ता लिएपछि २०५५ सालमा खडा भएका मोहीहरूले हकदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको देखिन्छ । त्यसपछि त्यहाँको जग्गाको चलखेल झनै धेरै भएको देखिन्छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूआतमा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी कतिपय राणा र मोहीका वारेस बनेका छन्। वारेसबाट उनीहरूले बालुवाटारको जग्गा आफ्नो नाममा ल्याएको देखिन्छ । अहिलेपनि बालुवाटारको १४ रोपनी जग्गा ढकाल र सुवेदीको नाममा रहेको बताइन्छ। उनीहरुसँगै ललिता निवासको जग्गामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पनि सामेल रहेको पाइएपछि सीआईबीले गुरुङलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गुरूङ र उनका परिवारको नाममा पनि त्यहाँको १४ रोपनी जग्गा रहेको बताइएको छ ।

भाटभटेनी सुपरमार्केटको गोदाम समेत ललिता निवास क्षेत्रमा बनेको छ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले समेत यहीँको जग्गा किनेर घर बनाएर बसेका थिए । उनलाई ढकाल र सुवेदीले जग्गा उपलब्ध गराएको देखिन्छ । २०६१ सालमा ढकालकी पत्नी उमा र सुवेदीकी पत्नी माधवीले विष्णु पौडेललाई ८ आना जग्गा हस्तान्तरण गरेको देखिन्छ । सीआईबीले अहिले यसबारे अभियुक्तलाई पक्राउ गरी कारबाही अगाडि बढाइरहेको छ । केहीलाई पक्राउ गरे पनि सबैजना अझै पक्राउ परेका छैनन् ।

May be an image of text

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १३:१८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।