सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाका अध्यक्षले सरकारी बजेटको चरम दुरुपयोग गरेको पाइएको छ ।

पालिका अध्यक्ष कर्णबहादुर थापाले विभिन्न होटलमा बसेकोदेखि खाएको शीर्षकमा लाखौं रुपैयाँ बजेटबाट छुट्याएर लिएको पाइएको हो । त्यतिमात्रै होइन, अध्यक्ष थापाले भ्रमणभत्ता शीर्षकमा पनि लाखौं रुपैयाँ लिएका छन् । सरकारी विकास निर्माणका काम आफ्नै कन्स्ट्रक्सन कम्पनी ‘थापा कन्स्ट्रक्सन कम्पनी’ खोलेर सरकारी ठेक्कावापतका काम आफ्नै कम्पनीमार्फत गराउँदै आएका थापाको आफ्नै लगानीमा सञ्चालित निजी विद्यालय पनि सञ्चालनमा छ ।

त्यसो त उनले गाउँपालिका अध्यक्ष भएर मासिक पारिश्रमिकको रुपमा सरकारी सुविधा पनि लिइरहेका छन् । उनी चढ्ने सरकारी गाडी समेत छ । तर थापाले भ्रमण भत्तामा समेत लाखौं रुपैयाँ लिएका भेटिएको हो । अघिल्लो समयसमेत पालिका अध्यक्ष भएर कार्यभार सञ्चालन गरेका अध्यक्ष थापाले गएको यो आर्थिक वर्ष सिन्धुलीमै रहेका प्रायः सबै होटलमा बास बसेको, खाना र खाजा खाएको शिर्षकमा १२ लाखभन्दा बढी रकम सरकारी बजेटमार्फत लिइएको पाइएको हो ।
केही महिनाअघि पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पुष्पाकुमारी झालाई आफूले भनेअनुसार काम नगरिदिएको भनेर उनै अध्यक्ष थापाले दुव्यवहार समेत गरेका थिए । त्यसपछि उनले झा को सरुवा समेत गराइ छाडे । थापा नेपाली कांग्रेबाट अध्यक्षमा विजयी भएका उम्मेदवार हुन । गरिबी, अशिक्षा र कुरीतिहरु अझै रहेको तीनपाटन गाउँपालिकामा नागरिकहरु सचेत नरहेको मौका छोपेर थापाले सरकारी बजेटको चरम दुरुपयोग गरिरहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले पनि तीनपाटनमा धेरै बेरुजु रहेको देखाइदिएको छ ।
अघिल्ला वर्षहरुमा पनि सिन्धुलीमा सबैभन्दा धेरै बेरुजु तीनपाटन गाउँपालिका रहेको पाइएको छ । पालिका अध्यक्षले बजेट जथाभावी खर्च गरेका कारण बेरुजु बढेको प्रष्ट बुझिन्छ ।





















प्रतिक्रिया