Logo

प्रमुख समाचार

सरकारको गतिविधिबारे जानकारी गराउँदै कांग्रेस उपसभापतिले भने– ‘शिर झुकाउनुपर्ने काम कदापि गर्दैनाैं’



काठमाडौं । उप्रधान तथा रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले पार्टी र नेताको शिर झुक्ने काम कहिल्यै नगर्ने बताएका छन् । पार्टी मुख्यालय सानेपामा मंगलबार सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारको गतिविधिबारे जानकारी गराउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने बताए ।

बैठकमा सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘सरकारमा सहभागी भएको लगभग चार महिना पुग्यो । हामीले पार्टीको निर्देशन, घोषणापत्र र मतदाताको भावना अनुसार नै काम गर्ने प्रयत्न गरिहेका छौं । कुनै त्रुटि भए केन्द्रीय समितिले सुझाव र सल्लाह दिनु होला ।’

कांग्रेसबाट उपसभापति खड्काको नेतृत्वमा ९ मन्त्री सहभागी छन् । उनलै अन्य मन्त्रीहरुलाई पनि जनताले आशा र भरोसा गर्न सक्ने काम गर्न सुझाव दिए । उनले केही बिग्रने र भत्किने किसिमको कुनै गतिविधि नगर्न तथा त्यस्तो बोली नबोल्न पनि आग्रह गरे । ‘जनताको आशा र अपेक्षालाई मध्येनजर गरेर भरोसायोग्य काम गरौं’, उपसभापति खड्काले भने, ‘गतिवविधि र बोलीहरुबाट भत्किने र बिग्रने तरहमा नपुगौं ।’

उपसभापति खड्काले सजिलोसँग गठबन्धन नबनेको भन्दै यसका लागि विभिन्न परिस्थितिको सामना गर्नुपर्नेको पनि सुनाए । त्यसक्रममा उनले संसदीय अभ्यास नसुहाउँदो निर्णय लिनुपरेको पनि बताए । ‘पुस १० को घटनापछि संविधान जारी गरेको कांग्रेस सडकमा पुग्नुपरेको थियो । त्यसपछि भत्किएको गठबन्धनलाई पुनर्स्थापित गर्ने संकल्प गरियो र फलस्वरुप पुस २६ गते एउटा परिस्थिति निर्माण गरियो’, एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको स्मरण गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरा सामान्य थिएन । यो पार्टीमा बहसको विषय पनि बन्यो । तर हामीले मनमोहन अधिकारीलाई झैँ संसदीय प्रक्रियालाई नसुहाउँदो घटना फेरि दोहोर्‍यायौं ।’

यसरी विश्वासको वातावरण बन्दै गएपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सफल भएको उपसभापति खड्काले बताए । ‘राष्ट्रपति निर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डले जुन प्रतिवद्धता व्यक्त गर्नुभयो त्यसपछि हामीले विश्वासको मत दियौं । अनि हामीले संघर्ष र अनुभवबाट खारिएका वरिष्ठ नेतलाई राष्ट्रपति बनाउन सफल भयौं ।’

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १६:५३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।