चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरको गत आर्थिक वर्षमा रु ६० करोड ६१ लाख बक्यौता राजस्व उठाउन बाँकी रहेको छ । कार्यालयले आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क बापत सो रकम उठाउन बाँकी रहेको हो ।
कार्यालयका कर अधिकृत विष्णु रावतका अनुसार आयकरतर्फ रु १७ करोड ६१ लाख, मूल्य अभिवृद्धि करतर्फ रु ३८ करोड ५१ लाख र अन्तःशुल्कतर्फ रु चार करोड ६४ लाख बक्यौता उठाउन बाँकी रहेको छ । यस कार्यालयमा दर्ता भएका करदता मध्ये एक सय छ जना करदाताबाट सो रकम उठाउन बाँकी रहेको छ ।
विगत तीन वर्षदेखि कर नतिर्ने करदाताहरूबाट बक्यौता असुलीका लागि कार्यालयले करदाताको नाम सार्वजनिक गरेको छ । एक सय छ जनाको नाम पत्रिकामार्फत सार्वजनिक गरिएको छ।
कार्यालयले टेलिफोन सम्पर्क गर्ने, पत्राचार गर्ने करदताकोमा सङ्कलन भ्रमण गर्ने र ताकेता गर्नेलगायतका काम गर्दा समेत बक्यौता रकम तिर्न नआएपछि उनीहरूको नाम सार्वजनिक गरिएको बताइएकाे छ । नाम सार्वजनिक भएसँगै १५ जना करदाता बाहेक अन्य सम्पर्कमा आएका छन् । सम्पर्कमा नआएका करदातालाई कानूनी कारवाहीका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको कार्यालयले जनाएकाे छ ।




















प्रतिक्रिया