काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै काठमाण्डौको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा तीज मेलाको आयोजना हुने भएको छ।
वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डीईसीसी नेपालले तीज मेलाको आयोजना गर्न लागेको हो । विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौँ संस्करण आयोजना गर्न लागिएको डीईसीसी नेपालका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिए। उनका अनुसार यसपटकको मेलालाई ए एस इभेन्ट्स एन्ड मार्केटिङले प्रवर्द्धन तथा व्यवस्थापन गर्नेछ ।

विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरुको व्यवसाय बिस्तार एवं प्रवद्र्धनको लक्ष्य सहित मेला आयोजना गरिएको भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आमउपभोक्तालाई आग्रह गरेका छन् ।

नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताहरुको सहभागिता रहने मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिने व्यवस्था गरिएको ए एस मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए ।
विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने श्रेष्ठको भनाइ छ ।
कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेसन, भेस्पर वाइनलगायतका ब्रान्डको सहयोग रहेको मेलामा उल्लेखित ब्रान्डका तर्फबाट मेला अवलोकनकर्ताहरुलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ ।
ट्रेड सेन्टरमा रहेका रेस्टुरेन्टहरुमा अजलोकनकर्तालाई छुटको व्यवस्था गरिनुका साथै विभिन्न किसिमका सामग्रीमा भारी छुटको व्यवस्था गरिएको डीईसीसीले जनाएको छ ।
डे टु डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। फुड भौचर तथा डिस्काउन्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।





















प्रतिक्रिया