काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई कडा पारेको छ। आज महानगरले काठमाडौं महानगरपालिका वडा न–३, लाजिम्पाटमा रहेको फो ९९ रेष्टुँरामा ताला लगाइदिएको छ ।
एक ग्राहकले खाजा खाने बेलामा मःममा साङ्ला भेटाएपछि उक्त जानकारी काठमाडौं महानगरपालिकालाई गरेका थिए । ग्राहकको गुनासो पश्चात अनुगमनमा गएको काठमाडौं महानगरपालिकाको टोलीले उक्त रेष्टुराँमा अझ धेरै खान नमिल्ने बस्तुहरु भान्सामा भेट्टाएपछि ताला लगाएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद पौडेलले एक उपभोक्ताले हिजो बुधकार मःममा साङ्ला भेटिएको गुनासो गराएपछि महानगरपालिकाको टोली आज अनुगमनमा गएको जानकारी गराए ।
उनले भने, ‘हिजो आएको गुनासोमा अध्ययन गर्न आज हाम्रो टोली गएको थियो । उक्त रेष्टुराँभित्र सरसफाइमा धेरैले लापरबाही भएको देखियो । धेरै अखाद्य बस्तु पनि रहेछ । दुई तीन दिन अघि बनाएको खानेकुरा दुई तीन दिनपछि पनि मिसाएर दिने गरेको पाइएपछि हामीले तत्काललाई ताला लगाइदिएका हौं ।’

उनका अनुसार भोलि उक्त रेष्टुराँका सञ्चालकहरु काठमाडौंमा आएर सरसफाईँको मापदण्ड पूरा गर्ने प्रतिवद्धता देखाएमा मात्रै उक्त रेष्टुराँ सञ्चालनमा आउने सम्भावना रहेको छ । तर रेष्टुराँ सञ्चालन गर्न दिने वा नदिने कुनैै ग्यारेण्टी नभएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले कति जरिवाना तिराउने भन्ने विषय भोलि नै टुंग्याउने जनाएको छ । यसअघि विभिन्न अखाद्य बस्तु बिक्री वितरण गर्ने पसलहरुलाई जरिवाना तिराउँदै आएको छ ।






















प्रतिक्रिया