Logo

राजनीति

चुरे विनाश रोक्नुपर्छ : प्रथम राष्ट्रपति डा. यादव



सप्तरी । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले तराई मधेसलाई समृद्ध बनाउन चुरे विनाश रोकनुपर्ने बताएका छन् ।
सप्तरीको राजविराजमा आज कर्मवीर योद्धा  खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोहमा उनले तराई मधेस मरुभूमि हुनबाट जोगाउन चुरे जङ्गल विनाशलाई रोक्नु आवश्यक रहेको बताएका हुन् ।

नेपालको तराई मधेसमा धेरै अन्न फल्ने भएकाले यहाँ नदि नाला र सिँचाइ सुविधा पुगेमा  समृद्ध नेपाल बन्न सक्ने बताउँदै उनले जलवायु परिर्वतन र वातावरण अनुकुलताका कारण अहिले तराईमा पानीको सतह घट्दै गएको   बताए । दैनिक चुरे विनाशले गर्दा ठाउँ–ठाउँमा पानीको अभाव  देखिएका कारण चुरे जोगाउन सबै नागरिक सचेत बन्नुपर्नेमा डा यादवको जोड थियो । “चार दशकअघिसम्म अन्न धान, चामल निर्यात गर्ने अवस्थामा हामी थियौँ, गरिब समुदायका मानिसले पनि पर्याप्त माछा खान पाउँथे, सागसब्जीको अभाव थिएन”, उनले भने   ।

संविधानसभाबाट नयाँ संविधान बन्नु, समानुपातिक समावेशिताको ग्यारेन्टी हुनु ठूलो उपलब्धि रहे पनि त्यसअनुसारको सुधार आउन अझै बाँकी नै रहेको डा यादवलले बताए । तराई–मधेसमा व्याप्त दाइजो प्रथा, आवश्यकभन्दा अनावश्यक कुरामा बढी खर्च गर्ने प्रवृत्ति अझै कायम रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा डा यादवले अभिनन्दित व्यक्तित्व खुशीलाल मण्डल र आफू प्रजातन्त्रका लागि सँगसँगै काम गरेको स्मरण गरे ।

पूर्वनिर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले अभिनन्दित मण्डलमा विश्लेषण गर्ने अद्भूत क्षमता रहेको बताए। मण्डल लोकतन्त्रप्रति समर्पित योद्धा हुनुभएकाले उहाँको सम्मान सार्थक रहेकामा कार्यक्रमका वक्ताको एकमत थियाे ।

प्रकाशित मिति : कार्तिक १, २०८० बुधबार  ९ : ४७ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।