काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासनको मिति सारेको छ ।
कम्पनीले भोलि कात्तिक २१ गतेदेखि आईपीओ जारी गर्न भनेको थियो। तर, आज एक सूचना प्रकाशित गर्दै मंसिर ४ गतेबाट आईपीओ निष्कासन गरिने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
क्यापिटलले तिहारको लामो बिदा पर्न गएकोले लगानीकर्ताको सहजतालाई मध्यनजर गर्दै आईपीओ निष्कासन मिति परिवर्तन गरिएको जनाएको छ । तर, केही दिनअघि मात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले हिमालयन रिइन्स्योरेन्सको आईपीओबारे धितोपत्र बोर्डलाई पत्र पठाएर स्पष्टीकरण सोधेको थियो। सोही कारणले पनि यो आईपीओको निष्कासन मिति सारेको हुन सक्ने बताइएको छ ।
्कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गरिनेछ। उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन् ।
यो आईपीओमा अब विदेशमा रहेका नेपाली श्रमिकले आउँदो मंसिर १८ गतेसम्म आवेदन दिन पाउनेछन् ।




















प्रतिक्रिया