Logo

राजनीति

मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिवबीच भेट



गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुुनझेङबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेले सचिव वाङ जुुनझेङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे । सचिव जुनझेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन प्रवर्द्र्धनमा थप मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाका नियमित सञ्चालन गरी प्रदेशवासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन मुख्यमन्त्रीले सचिव जुनझेङसँग आग्रह गरे। कोरोला नाकामा नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको द्रूत मार्ग निर्माण, तनहुँमा सय शै्ययाको अस्पताल निर्माणमा सहयोगको अपेक्षा गरिएको उनले बताए ।

चीनको सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओ लगायत सहरबाट नियमित सिधा उडानका लागि अनुरोध गर्दै उनले यसबाट दुई देशबीच व्यापार, पर्यटन एवं जनसम्पर्कमा मद्दत पुुग्ने बताए । तिब्बतसँगको सम्बन्ध अहिले मात्र नभई इतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल तिब्बत सम्बन्धको स्मरण गरे । १२ औँ शताब्दीतिर अरनिकोले नेपाल–चीनको सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।

घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै द्विपक्षीय सम्बन्धलाई सदियौँदेखि दुुवै राष्ट्रले निरन्तरता दिइरहेको उनको भनाइ छ । चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले  कोरोला नाका कात्तिक २७ गते (नोभेम्वर १३) मा खोल्ने योजना रहेको जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सहरबाट सिधा उडान गर्ने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै उनले प्राविधिक समूहलाई यसबारे अध्ययन गर्न पठाउने बताए । गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै जुनझेङले मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बतको भ्रमणको निम्ता दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार २१:१६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।