Logo

प्रमुख समाचार

भैरहवा पुगेर देउवाले भने– ‘बालकृष्ण खाणले न्याय पाउनुहुन्छ’



रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । आज रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए ।

भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका कांग्रेस नेता खाणलाई फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए । “बालकृष्ण खाण यहाँको नेता हो, तपाईहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो त्यसकारण तपाईहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो ” देउवाले भने, “तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।” अदालतमा विचाराधीन रहेको कारण बोल्ने नहुने बताउँदै देउवाले तर पनि आफूलाई खाणले न्याय पाउने विश्वास लागेको बताए ।

देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएको कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए । “अरुलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन”, उनले भने, “काठमाडौँमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहान्छु ।”

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार २१:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।