Logo

राजनीति

ओलीकाे टिप्पणी– ‘देशमा सुशासन कायम हुन सकेन’



बैतडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन् । बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताए । उनले भने, “देशमा सुशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा दिन सकिएको छैन ।”

सङ्कल्प यात्राको बेला देश विकास किन हुन सकेन भनेर स्थानीयसँग छलफल गरिने र देशको विकास एमालेको नेतृत्वमा मात्रै हुन्छ भन्ने सन्देश दिन सङ्कल्प यात्रा गरिन लागिएको अध्यक्ष ओलीले बताए ।

एमालेको बिहीबार सुरू हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटनका लागि उनी आज बैतडी आएका हुन् । सङ्कल्प यात्राको अध्यक्ष ओलीले बिहीबार बिहान झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको एमाले बैतडीका जिल्ला कमिटी सचिव चक्र कार्कीले जानकारी दिए ।

सङ्कल्प यात्राको समुद्घाटनपछि त्रिपुरासुन्दरी मन्दिरको दर्शन, सहिद दशरथचन्द, बलदेव रिचपलेको शालिकमा माल्यार्पणको कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना गरिएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको जनाइएको छ ।

यो यात्रा मध्यपहाडी लोकमार्ग केन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार २१:३९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।