काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीहरुले साेधेकाे प्रश्नमा मन्त्रिपरिषद् पुनर्गठन तत्काल नहुने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘सरकार गठन भएको बेलादेखि नै को हट्ने, गृहमन्त्री हट्ने चर्चा चल्ने गरेको छ । अहिले कुनै त्यस्तो छलफल छैन, सोचिएको पनि छैन ।’
आफू प्रधानमन्त्री भएको र आफ्नो दिमागमा मन्त्रिपरिषद् पुनगर्ठनबारे सोच नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘यो सबै हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन ।’
यस्तै प्रधानमन्त्री प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् । उनी बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए ।
प्रधानमन्त्री प्रचण्डले यसबारे दुबई पुगेपछि मात्र थाहा पाएको बताए । उनले भने, ‘३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ । जुन टाइम हो, त्यही टाइममा जान्थें।’




















प्रतिक्रिया