विश्व अर्थतन्त्र यतिबेला तरलताको अवस्थामा छ। त्यसको प्रतिछाँया नेपालको अर्थतन्त्रमा पनि देखिन्छ। कोरोना महामारी र रुस-युक्रेन युद्धका कारण नेपालको अर्थतन्त्र आर्थिक चपेटामा छ। अहिले विस्तारै विश्व अर्थतन्त्र माथि उठिरहेको छ। हाम्रा छिमेकी देशको कुरा गर्दा भारतको आर्थिक वृद्धिदर सकारात्मक दिशामा छ। चीनले पनि विस्तारै आफूलाई उठाउने कोशिस गरिरहेको छ। विस्तारै नेपालले पनि आफूलाई माथि उठाउँदै लैजानुपर्छ। अहिलेको समयमा देशभित्रै आन्तरिक उत्पादनमा जोड दिनुपर्छ। आयात गर्ने क्रमलाई घटाउँदै लैजानुपर्छ। अहिले नेपालले रेमिट्यान्सको भर पर्नुपर्ने अवस्था छ। यो अवस्था घटाउँदै युवाहरू स्वदेशमै रोजगार गर्ने वातावरण बनाउनुपर्छ। निर्यातमा जोड दिनुपर्छ। त्यसपछिमात्र हाम्रो आर्थिक अवस्थाले गति समात्न सक्छ।
हामी सधैँ परनिर्भरमात्र भइरह्यौं भने मुलुकको अर्थतन्त्र सवलीकरणको अवस्थामा कहिल्यै पुग्दैन। मुलुकमा ठूला उद्योगको स्थापना गर्नुपर्छ। ठूलोमात्रामा सामान उत्पादन गरेर निर्यात गर्ने क्षमता वृद्धि गर्नुपर्छ। अहिले पो नेपालमा युवाको संख्या बढी छ। कुनै बेला युवाको संख्या घटेर वृद्धवृद्धा वा बालबालिकाको संख्यामात्रै बढी रहने अवस्था आएमा मुलुक अप्ठ्यारोमा पर्छ। त्यतिबेला सरकारलाई नै गाह्रो पर्छ। त्यसैले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सरकार बेलैमा गम्भीर हुनुपर्छ। देशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्छ। युवाहरूलाई सबल बनाउन सकेमात्र देश सफल हुने हो। देशको श्रम शक्तिलाई पलायन गर्ने होइन, अन्य देशको दक्ष श्रमिकलाई नेपाल आउने वातावरण बनाउनुपर्छ।
हामी सधैँ परनिर्भरमात्र भइरह्यौं भने मुलुकको अर्थतन्त्र सवलीकरणको अवस्थामा कहिल्यै पुग्दैन।
यतिबेला पैसा बैंकमा थन्किएको छ। लगानीको वातावरण छैन। ठूला लगानीकर्ताहरूले लगानी गर्न डराउनुपर्ने अवस्था छ। विदेशी लगानीकर्ता पनि नेपाल आउन चाहने अवस्था छैन। त्यसैले सरकारले लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। भारतकै कुरा गर्दा पनि थुप्रै उद्योगधन्दा सञ्चालनमा छन्। ठूलो जनसंख्या भएर पनि जनता असन्तुष्ट छैनन्। रोजगारको वातावरण छ। भारतले लगानीका लागि ठूलो सहयोग गर्छ। लगानी हुँदा जति उत्पादन भयो उद्योगी व्यापारीले सरकारलाई त्यत्ति नै कर तिर्ने हो। यसले राष्ट्रलाई नै फाइँदा पुग्छ। तपाईं यो क्षेत्रमा लगानी गर्नुहोस् हामी सहयोग गर्छौं भनेर सरकारले लगानीका लागि आह्वान पनि गर्न सक्छ। त्यो गर्नु पनि पर्छ। सस्तोमा ऋण उपलब्ध हुने वातावरण बनाउनुपर्छ।
नेपाली उद्योग खोलेर आफ्नै उत्पादनको प्रयोग गर्न जनतालाई प्रेरित गर्नुपर्छ। हाम्रो कृषि प्रधान देश हो। तर, यहाँ कृषकले अपेक्षित अनुदान र राहत पाउँदैनन्। समयमा मल पाइँदैन। अनि कृषक कसरी कृषिप्रति आकर्षित हुने ? आकर्षित हुने वातावरण मिलाउने दायित्व त सरकारको हो । त्यसैले सरकारले नीति बनाएरमात्र हुँदैन, त्यसको सफल कार्यान्वयन पनि हुनुपर्छ। योजना बनाएर घर बसेर प्रगति हुने होइन। त्यसलाई सफल कार्यान्वयनमा लैजानुपर्छ। बनाएको नीति र योजना उपलब्धिपूर्ण छ, छैन अनुगमन गर्नुपर्छ। अभाव देखिएका ठाउँमा समस्याको समाधान गर्नुपर्छ। उदाहरणका लागि हाम्रो चियालाई विश्व बजारमा पठाउन सक्छौं। नेपाली चियाको गुणस्तर विश्वमै उच्च छ। तर, विश्व बजारमा हामीले अपेक्षित रूपमा पठाउन सकेका छैनौं। नेपालमा चलिरहेकै छ, जस्तोगरी चलिरहेको छ त्यसैगरी चलाउ भन्ने धारणा पनि पाइन्छ।
यसमा राजनीतिक अस्थिरताले भूमिका खेलिरहेको छ। मुलुकको आर्थिक समृद्धिका लागि स्थायी सरकार आवश्यक हुन्छ। पाँच वर्षसम्म एउटै सरकारले काम गर्न सक्ने अवस्था सिर्जना भएमा केही योजना लागू गर्न सहज हुन्छ। हाम्रो उद्योगको विकास कसरी गर्ने, बजार विस्तार कसरी गर्ने, उत्पादन कसरी बढाउने भन्दा पनि सरकार कसरी टिकाउने भन्ने खेल नेपालमा बढी हुन्छ। यसको असर सबै क्षेत्रमा देखिन्छ। सडक निर्माण गरौं, लगानीमा जनताको साझेदारी बढाउ भन्ने चरित्र सरकारमा पाइँदैन। सरकारले मलाई यो क्षेत्रमा काम गर्न मन छ भन्दा बाटो देखाउन सक्ने अवस्था छैन।
(अर्थछ्या फाउन्डेसनकी अध्यक्ष एवम् अर्थक्षेत्रकी जानकार आस्मा ढुङ्गानासँग गरिएको कुराकानीमा आधारित)
















प्रतिक्रिया