काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशीमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल गर्ने सहमति भएको छ ।
एमाले र राप्रपाले कोशीमा महिला र अन्यमा उम्मेदवारी दिएका एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका हुन् । एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो ।
राप्रपा कोशी प्रदेश संसदीय दल नेता भक्तिप्रसाद सिटौलाले राप्रपा र एमालेबीच तालमेलको सहमति भएको बताए ।
नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने राष्ट्रिययसभा चुनावलाई लिएर एमाले र राप्रपाबीच तालमेलको छलफल अन्तिम चरणमा पुगेको बताए । उनले पनि आजै सहमति सार्वजनिक गर्ने बताए ।
कोशीमा नेकपा एमालेले अन्यतर्फ परशुराम अधिकारी र महिलातर्फ रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । महिलातर्फ उम्मेदवारी नदिएको राप्रपाले अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ ।
कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन् ।
कोशीमा सत्ता गठबन्धनको मतभार ५४७४ छ भने बाँकी दलको कूल मतभार ४६६१ छ ।




















प्रतिक्रिया