Logo

प्रमुख समाचार

राष्ट्रियसभा निर्वाचनमा अहिलेसम्म ६० प्रतिशत मतदान, मतपरिणाम आजै आउने



काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि बिहीबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । सातै प्रदेशमा तोकिएका मतदान स्थलहरूमा  पुगेर प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार सवा ११ बजेसम्म ६० प्रतिशत मतदान सकिएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६० प्रतिशत मतदान सकिएको जानकारी दिए । सातै प्रदेशका मतदान केन्द्रमा मतदान जारी रहेको उनले बताए ।

आयोगले मतदानको समय बिहीबार अपराह्न ३ बजेसम्मको लागि तोकेको छ । यद्यपि उक्त समय अगावै सबै मतदान सकिने आकलन छ ।

राष्ट्रिय सभाको निर्वाचनको लागि १९ पदका आज मतदान भइरहेको हो । मतदान सकिएपछि मुचुल्काको काम गरिने र त्यसपछि मतगणना गर्ने स्थलमा सुरक्षित साथ पुर्‍याइने प्रवक्ता पौडेलले बताए । त्यसपछि मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेपछि मात्रै मतगणना सुरू हुनेछ । यसबीच कुनै विवाद नभएमा आजै मतगणना सुरू भई निर्वाचन परिणाम आउनेछ ।

प्रदेशसभा सदस्यहरूको मतभार ५३ र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र नगरपालिका प्रमुख-उपप्रमुखको मतभार १९ छ । यसअघि प्रदेशको मतभार ४८ र पालिकाको १८ थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाले मतदान गर्दैछन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १२:०६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।