Logo

प्रमुख समाचार

नेपाली कांग्रेसले ७८औँ स्थापना दिवस मनाउँदै



काठमाडौं । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

यस वर्ष स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने नेपाली कांग्रेसले जनाएको छ ।

आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ ।

स्थापना दिवस मनाए लगत्तै नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका आशा, अपेक्षा, सुझाव तथा गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाइने छ । केन्द्रबाट खटिने प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जिम्मेवारी दिइएको छ ।

केन्द्रीय प्रतिनिधि बाहेक पदाधिकारी र पूर्वपदाधिकारी समेत प्रत्येक प्रदेशमा पुगेर समुदायमा कांग्रेस अभियानमा सहभागी हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अभियानकै क्रममा १६ माघमा शहीद दिवसको अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने गरी कार्यतालिका बनाइएको छ । अन्तिम दिन माघ २६ गते पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवससँगै अभियान समापन हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार ११:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।