Logo

राजनीति

दुर्गा प्रसाईंसँग ज्ञानेन्द्रले भने- राजगद्दी छोडे पनि देश छोडेको छैन



काठमाडौं- दरबार हत्याकाण्डको २२ वर्ष पुगेको छ। यस अवधिमा धेरै नबोलेका र सक्रिय नबनेका पूर्व राजा ज्ञानेन्द्र शाह पछिल्लो समय भने केही सक्रिय बनेका छन्।

शनिबार पर्साको वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले नरसंहारकारी दरबार हत्याकाण्डसँग आफू र आफ्नो परिवारलाई जोडेर घातक प्रहार गरिएको टिप्पणी गरेका थिए।

आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर आफूले पुग–नपुग सात वर्ष राष्ट्रप्रमुखको दायित्व निर्वाह गरेको उनको भनाइ थियो। देशको थप बर्बादी नहोस् भनेर प्रजातन्त्रको मान्यता राखेर तत्कालीन समयमा जिम्मेवारी सम्हालेको उनले बताएका थिए।

‘जेठ, १९, २०५८ मा घटेको विनाशकारी घटना हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो। हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। सत्य सधैँ सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो,’ उनले भनेका थिए।

२०५८ सालको जेठ १९ गते तत्कालीन राजा विरेन्द्र, रानी तथा उनको सपरिवारसहत १० जनाको विभत्स हत्या भएको थियो। उक्त घटनाताका पोखरामा रहेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह त्यसपछि काठमाडौं फकिएर देशको राजा बनेका थिए।

राजा विरेन्द्रको बंश नाशपछि नेपालको राजाका रुपमा ज्ञानेन्द्रको शासनकाल प्रारम्भ भए पनि उनको शासन लामो समय टिक्न सकेन। जनआन्दोलन २०६२/६३ को सफलतासँगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो। राजतन्त्र हटाएर देशमा गणतन्त्रको स्थापना भएको थियो।

राजा विरेन्द्रको हत्यालाई अझैपनि शंकाको दृष्टिकोणबाट हेरिँदै आएको छ। तत्कालीन समयमा गठित छानबिन समितिले युवराज दिपेन्द्रले हत्या गरेको निश्कर्ष निकालेको थियो। छानविन समितिको उक्त प्रतिवेदन आम नेपाली जनता पत्याउन तयार भएनन्। दरबार हत्याकाण्ड त आफ्नो ठाउँमा छ।

राजनीतिक दलहरूप्रति जताको आक्रोस बढिरहेको बेला पछिल्लो समय पूर्वराजा शाहले देखाएको सक्रियता चाख लाग्दो छ। राजसंस्था गुमेपछि प्रायः सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका ज्ञानेन्द्र यस वर्ष भने उल्लेख्य कार्यक्रममा सहभागी भए। उनले विभिन्न कार्यक्रममा विभिन्न खाले अभिव्यक्ति पनि दिए।

पूर्व राजा ज्ञानेन्द्र सहभागी कार्यक्रममा उनलाई हेर्न र उनको सम्बोधन सुन्न ठूलोमात्रामा नागरिकहरूको उपस्थिति पनि रहने गरेको छ। यसले राजालाई थप हौस्याएको हुन सक्छ।

आजमात्रै पूर्व राजा ज्ञानेन्द्रले लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्थाको पक्षमा वकालत गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट दिएका छन्। सिमरा पुगेका राजालाई आज बिहान मेडिकल व्यवसायी प्रसाईंले भेटेका हुन्।

उनले पूर्व राजासँग आफ्नो एक्लाएक्लै भेट भएको बताए। सबैलाई भेटिसकेपछि लास्टमा आफूले भेटेको उनको भनाइ छ।

सोमबार शाहसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले लेखेका छन्, ‘अर्थपूर्ण भेटघाट।’

प्रसाईंलाई अनलाइ पानाले पूर्व राजासँग अर्थपूर्ण भेटघाटमा के भयो त संवाद भनेर सोध्दा पूर्व राजालाई उदृत गर्दै उनी भन्छन्, ‘पूर्व राजासँग आज राम्रै कुरा भयो। उहाँले २०६२/६३ मा मलाई सत्ताबाट हटाइयो। राजगद्दीबाट हटे पनि मैले देश त छोडेर गएको छैन। राजाले गर्दा देशमा समृद्धि भएन भन्ने सबै जनता र नेताको चाहना छ भने देश समृद्ध हुन्छ भने हामी सत्ता छोड्छौं भनेर सत्ता छोडेका हौं। देशमा खुन खरावा भइरहेको थियो। थप खुन खरावा नहोस् भन्ने हाम्रो चाहना थियो। तर आज नेपाली नागरिकले के पाए भनेर उहाँले प्रश्न गरिरहनु भएको छ।’

नेपाली नागरिकले के पाए भन्दा आफूहरूले कुनै उत्तर दिन सक्ने अवस्था नरहेको उनी बताउँछन्। ‘नेपाली नागरिकले हरियो पासपोर्ट पाए। डेढ करोड नेपाली विदेश पलाएन भए। एक लाख नागरिकले पोहोरसालमात्रै देशको नागरिकता त्यागे। आठ लाख घर खाली भएर ताला लाग्यो। ४५ लाख घर मध्ये ८ लाख घरमा ताला लागेको छ। युवा जति खाडि गए। ६ सय कलेज बन्द भए। प्लस्टुभन्दा बढी पढाइ हुँदैन। ठेकदारले पैसा नपाएर बाटो बन्दैन। सात आठ वर्षदेखि थानकोटबाट तल झर्ने बाटो जस्ताको त्यस्तै छ। यो त कसैले कसैलाई ढाटेर ढाटिने विषय होइन नी। हाम्राबीचमा यीनै विषयमा छलफल भएको हो,’ उनी भन्छन्। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँत्यही बाटो खनेको भए पनि कतै गतिलो बाटो नभए उनको टिप्पणी छ।

‘नेताहरू हवाइजहाजमा हिँड्छन्। गाउँमा सबैलाई धनी बनाउने भनेर सहकारीले सबैलाई सुकुम्बासी बनाए। मान्छे झुन्डिएर वा घरबाट हाम फालेर मर्ने अवस्था सिर्जना भएको छ। यो स्थितिको सिर्जना गणतन्त्रले गरेको हो। राजा फालेको फल त यही पाइयो नी त,’ उनले भने। एमसीसी पास गर्नेलगायत सबै गलत काम भएको आफूले राजासँग बताएको उनको दाबी छ।

उहाँले अब नेपाली नागरिकले के गर्छ भन्ने प्रश्न गर्दा आफूले राजालाई नेपाली नागरिकको गार्जेन भइदिनुपर्‍यो भनेर प्रस्ताव गरेको प्रसाईंले बताए। उनले पूर्व राजासँग आफ्नो एक्लाएक्लै भेट भएको बताए। सबैलाई भेटिसकेपछि लास्टमा आफूले भेटेको उनको भनाइ छ।

‘राप्रपालाई पूर्व राजाले समूहमा भेट्नु भयो। उहाँले राप्रपालाई विश्वास गर्नु भएको छ छैन मलाई थाहा छैन। किन भने राजासँग राजेन्द्र लिङ्देनसहित भेटेर केपी ओलीसँग सभामुख साटेको होइन। त्यसले उहाँले विश्वास गर्नु भएको छैन। त्यसैले त वान टु वान हाम्रो साढे तीन घण्टा कुरा भयो। उहाँहरूले जम्मा लन्च टाइम पाउनु भयो। राप्रपाको गणतन्त्र हुँदा पनि खाने उता हुँदा पनि खाने भन्ने कुरा हो। राजा र हिन्दु राज्य स्थापित भए राप्रपाको नारा त त्यही हो। नारै सकिएपछि उसले किन राजसंस्था र हिन्दु राज्य ल्याउँछ? ल्याउँदैन। त्यो मलाई विश्वास छैन’, उनले भने। राप्रपासँग पूर्व राजाको त्यो विश्वास भए आफूसँग साढे तीन घण्टा कुरा नै नगर्ने उनले भने। राजाले घुमाउरो रुपमा आफ्नै शब्द बोलिरहेको बताएका छन्। गाउँ खालिभयो, युवा विदेशीय भन्ने कुरा राजाले बुझेर बोलिरहेको उनको भनाइ छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १९:४३   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।