Logo

राजनीति

धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशित



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। महानगरले हालै धरहरामा निःशुल्क पार्किङ सुरू गरेपछि त्यसलाई बन्द गर्न पत्र आएपछि उनी आक्रोशित बनेका हुन्।

मेयर बालेनले धरहरामा सुरु भएको निशुल्क पार्किङ बन्द नहुने चेतावनीसमेत दिएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले सर्वसाधारणको लागि पार्किङ खुल्ला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको भन्दै आफू छउन्जेल काठमाडौं महानगरमा कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन नदिने चेतावनी दिएका हुन्।

‘२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । सोही उदघाटनलाई काठमाडौंका तत्कालिन मेयर विद्यासुन्दर शाक्यले भन्नु भएको थियो। आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे। तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु,’ उनले भने।

पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलीले नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ, भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुने बालेनले तर्क गरेका छन्।

तोकिएको समयमा काम सम्पन्न नहुने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनको भनाई छ। निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गर्न शाहले आग्रह गरेका छन्।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगर्न आग्रह गर्दै शाहले सो स्थानमा पार्किङ बन्द नरहेको पनि बताएका छन्।

केपी ओलीप्रति लक्षित गर्दै भने,‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ।’मेयर बालेनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ०९:२४   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।