Logo

राजनीति

कांग्रेस महासमिति बैठकमा ६० जनाले राख्नेछन् धारणा



काठमाडौं । कांग्रेसको महासमिति बैठकका सहभागी नेतामध्ये ६० जनाले बोल्न पाउने भएका छन्। सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने बैठकको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।

ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने, ‘महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको छ। महासमितिमा सहभागी सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने छ।’

बैठकका सबै गतिविधि जानकारी दिने उद्देश्यका साथ मिडिया सेन्टर स्थापना गरिएको उनले बताए। उनले भने, ‘फागुन ७ देखि १० गतेसम्म गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक हुँदै छ। आजबाट मिडिया सेन्टर स्थापना गरिएको छ।’

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस जानकारी प्रमुख विश्वकर्माले दिए।

यस पटकको महासमितिको बैठक विगतको भन्दा अलि फरक ढंगले गर्न लागेको उनले बताए। प्रस्तावहरूमाथि हिमाल, पहाड, तराई र मधेसको प्रतिनिधित्व हुने गरी चार वटा समूह बनाएर समूहगत रूपमा छलफल गरिने पनि उनले जानकारी दिए।

उनले भने,‘प्रतिवेदनहरूमाथि समूहगत छलफल हुनेछ। हिमाल, पहाड, तराई र मधेस सबै क्षेत्रबाट प्रतिनिधित्व हुनेगरि समूह विभाजन गरिनेछ। यस पटकको महासमितिको बैठक विगतको भन्दा अलि फरक ढंगले गर्दै छौँ।’

बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १ सय ६५, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार ७ सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने छन्। बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : फाल्गुन ७, २०८० सोमबार  ११ : ४६ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।