Logo

प्रमुख समाचार

भविष्यमा गठबन्धन गर्ने/नगर्ने निर्णय अहिले गर्नु उपयुक्त होइन : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा अहिले नै निर्णय गरिहाल्न उपयुक्त नभएको बताएका छन् ।

सोमबार ललितपुरमा महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान गठबन्धन आगामी गठबन्धनबारे आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न उपयुक्त नभएको बताएका हुन् ।

पार्टीभित्र आगामी गठबन्धनबारे अहिले नै निर्क्योल गर्नुपर्ने मत आइरहेका बेला सभापति देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताएका हुन् ।

उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे ।

‘अहिले हामी गठबन्धनको अभ्यासमा छौं । गठबन्धन सरकार बनाउनका लागि १० महिनाअघि मात्र बनेको हैन । प्रतिनिधि सभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,’ उनले भने, ‘वर्तमान सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेश भएको सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटिएको छ । वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले बनेको हो ।’

कांग्रेस महामन्त्री गगन थापाले आफ्नो सांगठानिक प्रतिवेदनमा गठबन्धन गर्न नहुने प्रस्ताव महासमिति बैठकबाट लिनुपर्ने उल्लेख गरेपछि सभापति देउवाले सुरुमै गठबन्धन गर्ने वा नगर्ने भन्ने अहिले निर्णय गर्न नहुने बताएका हुन् ।

‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुन्छ । त्यसैले पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिनसक्नेछ’, देउवाको भनाइ छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १६:१८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।