काठमाडौं- वर्तमान सत्ता गठबन्धन टुट्यो भने भोलिका दिनमा घातक हुनसक्ने नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन्। बिहीबार सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले यस्तो बताएका हुन।
उनले तरुण दल नेपाली कांग्रेसको मेरुदण्ड मात्र नभएर नयाँ सदस्य जोड्ने महत्वपूर्ण भ्रातृ संस्था भएको स्पष्ट पारे। जति पनि राजनीतिक अप्ठ्यारामा नेपाली कांग्रेसले चालेको हरेक कदममा तरुणले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष गुरुङको भनाइ थियो।
तरुण दल पार्टीको महत्वपूर्ण भ्रातृ संस्था हुँदाहुँदै पनि महासमिति बैठकमा यसको मर्ममा प्रहार गर्ने काम भएको उनले बताए। पार्टीको यो व्यवहारले तरुण दल मात्र होइन, सम्पूर्ण भ्रातृ संस्थाहरु उच्च मनोबलका साथ पार्टीप्रति समर्पित बन्न नसक्ने उनले स्पष्ट पारे।
‘महासमिति बैठक मुलतः पार्टीको नीतिमा बहस हुनुपर्ने हो, तर नीतिमा बहस भएको छैन’, अध्यक्ष गुरुङले भने, ‘२०७४ सालमा बामपन्थीहरुको झन्डै दुईतिहाइको सरकार बन्दा देशभरका नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको थियो। कांग्रेस कार्यकर्ताले धेरै हेपाइ सहनु परेको थियो। त्यसपछि सुझबुझको राजनीतिबाट नेपाली कांग्रेसले लिएको रणनीतिले गर्दा संसदमा सबभन्दा ठूलो राजनीतिक दल बनेको छ।’
चाहेर वा नचाहेर अहिले गठबन्धन सरकार छ। अहिले नै गठबन्धन टुट्यो भने भोलिका दिनमा घातक हुनसक्ने औंल्याउनु हुँदै अध्यक्ष गुरुङले भने, ‘तरुण दल जहिले पनि नेपाली कांग्रेसको अगुवाइमा हुने हरेक आन्दोलनमा सहभागी हुनेछ। अहिले तरुण दलले विभिन्न जिल्लामा स्वास्थ्य शिविर, तराइमा कृषि कार्यक्रमसहित सक्रिय छ। जनतासँग प्रत्यक्ष भेटघाट हुने कार्यक्रम लिएर तरुण दल जिल्ला जिल्लामा जाँदैछ।’
तरुण दल अध्यक्ष गुरुङले भ्रातृ तथा सुभेच्छुक संस्थाको मर्यादाक्रममा संशोधन गर्न आग्रह गरेका छन। अध्यक्ष गुरुङले मर्यादाक्रममा गरिएको विभेदले मनोबल गिरेको बताए।




















प्रतिक्रिया