Logo

प्रमुख समाचार

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्या सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समितिको कामकारबाहीको समीक्षा हुनेछ भने सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा भएका निर्णय कार्यान्वयन सम्बन्धमा थप छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ ।

त्यस्तै दिउँसो ४ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ६ वर्ष कार्यकाल पूरा गरी जाने सदस्यहरूको बिदाइ गर्ने कार्यक्रम रहेको छ । विधायन व्यवस्थापन बैठकमा राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल पूरा गरी अवकाशमा जान लागेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको विदाई गर्ने भएको छ ।

राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था अनुसार २० जना सदस्यहरुको कार्यकाल आजबाट सकिँदैछ ।

प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार  ९ : २६ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।