Logo

प्रमुख समाचार

भत्कियो सत्ता गठबन्धन



काठमाडौं- नेपाली कांग्रेस सम्मिलित पुष्पकल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस सम्मिलित गठबन्धन भत्किएको हो।

आइतबार रातिसम्म नेकपा एमाले, माओवादी केन्द्रलगायत सत्ता बाहिर रहेका दलहरूबीच बसेको बैठकले सत्ता समीकरण बदल्दै नयाँ सिराबाट अगाडि बढ्ने निर्णय गरेको हो। सोही अनुरुप अब एमाले सरकारमा सहभागी हुने भएको छ।

सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको बताइएको छ। गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण लागि अगाडी बढाउने विषयमा नेताहरू एक मत भएको माओवादी उच्च स्रोतले बताएको छ।

सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेले पदम गिरीको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउने जनाएको छ।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो। एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए।

आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने जानकारी गराएका छन्। सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै पाण्डेले यस्तो जानकारी गराएका हुन्।

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै। सानो मन्त्रीमण्डलले आज शपथ लिनेछ,’ पाण्डेले लेखेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १०:०८   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।