काठमाडौं- सत्ता गठबन्धन परिर्वतन भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पूर्वपदाधिकारी र पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल गरेका छन्।
सत्ता गठबन्धन निर्माण गर्दाको सहमति समय सकिन करिब १ वर्ष बाँकी छदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई धोका दिएपछि देउवाले आज विहान पूर्वपदाधिकारी तथा पदाधिकारीसँग छलफल गरेका थिए। माओवादीले कांग्रेसको साथ छोडेर नेकपा एमालेसँग सहकार्य अघि बढाएको छ।
आइतबारसम्म बैठकमा संक्रमणकालीन न्याय टुंग्याउन सहयोग मागेका प्रधानमन्त्रीले एकै रातमा साथ छोडेर काँध फेरेपछि देउवाले कसरी अघि बढ्ने भनी पार्टी पदाधिकारीलाई छलफलमा बोलाएका थिए। छलफलमा सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वसनीय रुपमा गठबन्धन तोडेको बिफ्रिङ गरेका थिए।
नेपाली कांग्रेसका तर्फबाट सहभागी भएका मन्त्रीहरुले राम्रै गरेको र अब नयाँ रुपमा काम गर्नुपर्ने कुरा यसअघि प्रधानमन्त्री प्रचण्डसँग भएको र उक्त कुरा आफूले पार्टीमा ब्रिफिङ पनि गरेको उनले बताएका थिए। तर, आइतबार एक्कासी किन प्रधानमन्त्री एमालेसँग जान तयार भए भन्ने विषयले आफ्ना लागि आश्चर्यजनक र अप्रत्यासित भएको उनको भनाइ थियो।
अब नेपाली कांग्रेस प्रतिपक्षमा रहने र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। बैठकमा सहभागी पदाधिकारीले अब मन्त्रीको हकमा के गर्ने भनी प्रश्न गर्दा देउवाले गठबन्धन प्रधानमन्त्रीले तोडेकाले आफ्ना मन्त्रीले किन राजीनामा दिने? भन्दै प्रतिप्रश्न गरेका थिए।
‘जेजे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ। हाम्रा मन्त्रीले किन राजीनामा दिने?,’ उनले भनेका थिए।
माओवादीले भने नेपाली कांग्रेसका मन्त्रीहरूले प्रधानमन्त्रीलाई सहयोग नगरेकाले गठबन्धन फेर्नु परेको आरोप लगाएका छन्।
प्रतिक्रिया