काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले जनकपुर बोल्ट्ससँगको सहकार्य नेपाली क्रिकेटको विकास, स्थानीय प्रतिभाको पहिचान र युवा सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले गरिएको बताए।
उनका अनुसार साझेदारी जर्सीमा बैंकको लोगो राख्नेमात्रमा सीमित रहने छैन। यसमार्फत नेपाली क्रिकेटको प्रवर्द्धन तथा युवा खेलाडीलाई प्रोत्साहन गर्ने बैंकको प्रतिबद्धता छ।
यसैबीच, एनपीएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आधिकारिक टी–२० मान्यता दिएको छ। यससँगै प्रतियोगितामा खेलाडीले बनाएका रन, लिएका विकेट तथा अन्य व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछन्।
एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सले प्रतियोगितामार्फत नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएको छ। टोलीको सफलताले मधेश प्रदेशको खेलकुद पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्नसमेत योगदान पुर्याएको छ।




















प्रतिक्रिया