Logo

प्रमुख समाचार

माधव नेपाल स्लाइन लिँदै घरमा, गठबन्धनका लागि भेट्न नेताहरूको लर्को



काठमाडौं- अस्वस्थ भएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रेस्टमा रहेका छन्। उनी दुई दिन अस्पताल भर्ना भएर आइबार साँझ डिस्चार्ज भएका हुन्।

नेपाललाई श्वासप्रश्वासमा समस्या देखिएको छ। उनलाई भाइरल ज्वरोले गाँजेको बताइएको छ। अस्वस्थ भएपछि उनी अस्पताल भर्ना भएका थिए। अहिले उनको अवस्था सुधारोन्मुख रहेको छ। सोमबार दिउँसो फेरी समस्या देखिएसँगै डाक्टरले घरमै आएर चेकजाँच गरेका थिए।

नेपालको स्वास्थ्यका कारण आज पार्टीको पदाधिकारी बैठक कोटेश्वरस्थित उनकै निवासमा बसेको थियो। नेपालले स्लाइनबाट औषधि लिँदै सुतिसुती बैठकमा सहभागी भए थिए। बैठक करिब १५–२० मिनेटमात्र चलेको थियो। बैठकमा नेपालले नेताहरूलाई गठबन्धन फेरबदलको निर्णयबारे कसैलाई पूर्व जानकारी रहे नरहेको बारेमा सोधेका थिए। उत्तरमा कसैले पनि गठबन्धन परिवर्तनका बारेमा जानकारी नभएको बताएका थिए।

त्यसपछि नव निर्मित गठबन्धनमा आवद्ध नेताहरूको रेस्पोन्स हेरेर निर्णय लिने विषयमा बैठक केन्द्रित रहेको थियो।

अस्वस्थताका बाबजुद पनि नेपाल सोमबार दिनभरि व्यस्त रहे। बिहान माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपालको निवास पुगेका थिए। श्रेष्ठले नेपालसँग सरसल्लाह नगरीकन गठबन्धन फेरबदलको निर्णय गरिएकोमा प्रधानमन्त्रीलाई गल्तीबोध भएको सुनाएका थिए।

माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी गराउँदै गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। श्रेष्ठले वामपन्थीहरू एक ठाउँमा आउनुपर्ने धारणा राखेका थिए।

सुरुबाट आफूहरूसँग कुनै सल्लाह नै नगरेको भन्दै नेपालले असन्तुष्टि पोखेका थिए। अहिलेको भेट औपचारिकता पुरा गर्ने प्रस्ताव जस्तोमात्र भएको उनले बताएका थिए। उनले मुखले मात्र वामपन्थी सरकार भनेर नहुने बताएका थिए।

सोमबार नै जसपा अध्यक्ष उपेन्द्र यादव पनि नेपालको घरमा पुगेका थिए। उनले नेपाललाई सरकारमा नजान सुझाव दिएका थिए। नेकपा एस सरकारमा नगएमा आफ्नो पार्टी सरकार निर्माणका लागि निर्णायक हुन्छ भन्ने यादवको चाल थियो।

नेपालको निवासमा सीके राउत र रेशम चौधरी पनि पुगेका थिए। उनीहरूले पनि सरकारमा जाने–नजानेबारे नेपालको धारणा बुझ्न खोजेका थिए।

यहीबीच सोमबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बालुवाटारमा गठबन्धन बैठक चलिरहँदा नेपाल निवास कोटेश्वर पुगेका थिए। प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका थिए।

उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफलसमेत भएको थियो। भेटमा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। नेपालले परिस्थिति हेरेर निर्णय लिइने प्रतिउत्तर फर्काएका थिए।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ०७:४६   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।