काठमाडौं- सत्ता समिकरण फेरिएसँगै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ। नेपाली कांग्रेससँगको सत्ता समिकरण टुंग्याएर माओवादीले एमालेसँग मिल्दै सरकारको नेतृत्व गरेपछि राजनीतिमा नयाँ तरंग पैदा भएको हो।
गठबन्धन परिवर्तनसँगै प्रतिपक्षमा पुगेको कांग्रेसले सत्ता बाहिर रहेका दलसँगको समन्वयमा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरेको छ। उसले सत्ता बाहिर रहेका दलहरूसँग मिलेर नयाँ गठबन्धन अस्तित्वमा ल्याउने कसरतसमेत गरिरहेको हो।
राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदका लागि २९ फागुनमा निर्वाचन हुँदै छ। त्यसका लागि कांग्रेसले विभिन्न दलहरूसँग संवाद अगाडि भढाएको छ। राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षका लागि विभिन्न दलहरूसँगको संवादपछिमात्र उम्मेद्वार टुंगो लगाउने कांग्रेसको तयारी छ।
सभापति शेरबहादुर देउवाले शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार र रणनीतिबारे छलफल गरेका थिए। प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस राष्ट्रिय सभामा दोस्रो दलको हैसियतमा छ।
परिवर्तित परिस्थितिमा कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियत छ। प्रतिपक्षमा रहेका दलहरूबीचको एलायन्समा छलफल गरेर मात्रै उम्मेदवार तय गरेर जाने विषयमा शनिबार छलफल भएको कांग्रेस नेताहरूले बताएका छन्।
एमाले–माओवादी गठबन्धन बनेपछि सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्न विभिन्न रणनीति अंगिकार गरिरहेको छ। त्यसका लागि कांग्रेसले सरकारबाहिर रहेका दलहरूसँग छलफल गरिरेहको हो।
राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमा परिणाम आफ्नो पक्षमा नआउने अवस्था रहे पनि कांग्रेसले अन्य दलको समेत समर्थन जुटाएर उम्मेदवारी दिन चाहेको छ। हाल राष्ट्रिय सभा अध्यक्ष मात्र रिक्त छ। तर, एमालेसँगको सहमतिमा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति भएकाले हाल राष्ट्रिय सभा उपाध्यक्ष रहेकी उर्मिला अर्यालको राजीनामा आउनेछ।
१० माघमा कांग्रेस–माओवादी गठबन्धन गरेर निर्वाचनमा गएको थियो। यससँगै राष्ट्रिय सभामा शक्ति सन्तुलनमा फेरबदल आएको थियो। राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ। तत्कालीन समयमा गठबन्धनबीच सो सिट जनमोर्चालाई दिने सहमति बनेको थियो।
साथै, राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस नेता कृष्ण सिटौलालाई अगाडि सार्ने सहमति बनेको थियो। तर, राष्ट्रिय सभामा कोशी प्रदेशमा गठबन्धनबाट उम्मेदवार भएका कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा महिलातर्फ माओवादीकी चम्पादेवी कार्की पराजित भइन्।
माओवादी उम्मेदवार पराजित भएर एमाले उम्मेदवार निर्वाचित भएपछि माओवादीले कांग्रेसबाट धोका भएको भन्दै सिटौलालाई अध्यक्षमा अगाडि सार्ने सहमतिअनुसार अगाडि बढ्न नसक्ने बताउँदै आएको थियो। मुख्यमन्त्री चयन प्रक्रियामा धोका पाएको माओवादीले राष्ट्रिय सभा निर्वाचनमा दोस्रो धोका थियो।
यसबाट शंकाको दायरा बढेको नेताहरूले बताउँदै आएका छन्। अन्ततः राष्ट्रिय सभा निर्वाचनमा आइपुग्दा गठबन्धन टुट्नुको सूत्रपात बन्न पुग्यो। गठबन्धन टुट्नुको प्रमुख कारणको रूपमा माओवादीले कोशी प्रकरणलाई उल्लेख गरेको छ।
वामपन्थी शक्तिहरू एकीकृत भएपछि लगत्तै लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर सरकारलाई विश्वासको मतका आधारमा संकटमा पार्ने रणनीतिअनुसार वैकल्पिक गठबन्धनको कसरत थालेको थियो। सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर तत्काल सरकारमा जान हतार नगर्न आग्रह गरेका थिए। साथै, प्रधानमन्त्री प्रचण्डले धोका दिएको निष्कर्षसहित पूर्वगठबन्धनका बाँकी घटकलाई जुटाउने प्रयास गरिरहेको छ। कांग्रेसले लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्तिसँग समेत छलफल गरिरहेको छ।
संघमा गठबन्धन भत्किएसँगै त्यसको असर सातै प्रदेशमा पर्ने देखिएको छ।
शनिबारमात्रै कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन गरेको छ। कांग्रेस संसदीय दलको नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका संसदीय दलका कानुनी सल्लाहकार अधिवक्ता केशव जोशीले जानकारी दिए।
कांग्रेस विधानमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने प्रावधान छ। सोहीअनुसार शनिबार देउवाले सिटौलालाई मनोनीत गरेका जोशीले बताए।




















प्रतिक्रिया