Logo

प्रमुख समाचार

मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्वाचन आयोगकाे आग्रह



काठमाडौं । निर्वाचन आयोगले इलाम-२ र बझाङ-१ का जनतालाई आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । उपनिर्वाचनका निम्ति वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेको विवरण अध्यावधिक गरिने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतवार विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन् । अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट संकलित नामावलीको अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्न लागिएको उनले जानकारी गराएका छन् । निर्वाचन कार्यालयबाट फागुन १३ गतेसम्म संकलित विवरणमध्ये वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरिनेछ ।

उनका अनुसार, यही फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ । अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन फागुन २९ देखि चैत ५ गतेसम्म सञ्चालन गरिए उनले जानकारी गराए ।

उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, नाम एकभन्दा बढी स्थानमा समावेश गरिएको भए एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन, एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका निमित अनलाइनमार्फत वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिने उनले जानकारी गराएका छन् ।

उनका अनुसार, चैत २२ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  २ : ०२ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।