Logo

प्रमुख समाचार

प्रचण्डलाई सिटौलाले भने- धोकाधडीको राजनीति यहीं टुंगिन्छ भनेर नठान्नुहोला



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष रोष प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् ।

आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रियसभा दलको नेता कृष्णप्रसाद सिटौला र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको गुनासो छ । ‘राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’, सिटौलाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य मात्रै हुने गरी उठ्ने थिइनँ ।’

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै सहमत भएपछि राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारीका साथ सिटौलालाई राष्ट्रियसभामा आएका थिए । ११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट सिटौला तत्कालिन कांग्रेस–माओवादी गठबन्धनको बलमा निर्वाचित भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले लामो भूमिका बाँधेर गठबन्धन कायम राख्न नसक्नुमा यो भयो, त्यो भयो भन्दै कांग्रेसले पारेका अप्ठ्यारो सुनाएका थिए । त्यसपछि सिटौला ‘तपाईंले जुन धोकाधडीको राजनीति गर्नुभयो । यो यहीं टुंगिन्छ भनेर नठान्नुहोला’ भन्दै बाहिरिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सैद्धान्तिक मतभेद देखिएपछि गठबन्धन फेर्नुपरेको जवाफ दिएका थिए । फागुन १७ मा आफूसँग किन झुट बोलेको भन्दै सिटौलालाले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए ।

‘तपाई चार-पाँच महिनादेखि ओलीसँग कुरा भइराखेको भन्नुहुन्छ । मैले फागुन १७ गते आएर बाहिर हल्ला यस्तो छ नि भन्दा तपाई होइन होइन भन्नुहुन्छ । तपाईले किन झुट बोल्नु भएको ? गठबन्धनका दलसँग किन छलफल गर्नु भएन ?,’ उनको प्रश्न थियो ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  २ : २३ बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।