Logo

विचार / ब्लग

अभाव र सास्तीको जाँतोमा पिसिँदै गणतन्त्रका जनता



सात राजनीतिक दल मिलेर २०६२–६३ सालमा १९ दिने आन्दोलन गरियो। आन्दोलन गर्नुको कारण थियोः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते लिएको सत्ता फिर्ता दिनुपर्ने। त्योबाहेक अन्य कुनै माग राजनीतिक दलको थिएन। ‘जनताको नासो, जनतालाई नै फिर्ता’ दिनुपर्छ भनेर उनीहरू सडक संघर्षमा उत्रिएका थिए। सो आन्दोलनपछि राजाले खोसेको अधिकार फिर्ता दिए। विघटन गरेको संसद् व्यूताइदिए। २०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। उनले जंगलमा बसेको माओवादीलाई वार्तामा ल्याए। गिरिजाले भने, ‘जनतामा जाऔं, जनताले जे निर्णय गर्छन् त्यही स्वीकार्औं।’ २०६५ जेठ १५ गते राजाले जनताको नासो, जनतालाई फिर्ता दिँदा सात दलले राजतन्त्र र हिन्दू राज्य हटाउने, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउने, नेपाललाई सात प्रदेशमा बाँड्ने भनेका थिएनन्। यो हुन्छ भन्ने जनताले कल्पना पनि गरेका थिएनन्। माओवादी जनयुद्धको नेतृत्व गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६४ चैत २८ गते भएको संविधान सभाको चुनावमा गए।

१२१ निर्वाचन क्षेत्रबाट माओवादीले प्रत्यक्ष जित्यो। गिरिजाप्रसादलाई राष्ट्रपति दिने ‘ललिपप’ देखाएर राजतन्त्र हटाउने र राजालाई नागार्जुनको जंगल लखेट्ने निर्णय सदनबाट बहुमतका साथ पारित गरियो। राष्ट्रपति पाउने धोकोमा रहेका गिरिजाप्रसादले धोका पाए। उनले राष्ट्रपति नै पाएनन्। पहिलो संविधान सभाको चुनावबाट संविधान बनेन। दोस्रो संविधान सभाको चुनावबाट मात्रै संविधान आयो। २०७२ असोज ३ गते नेपालको संविधान बन्यो। १९ दिने आन्दोलनमा साथ दिनुपछाडि जनताको कुनै ठूलो चाहना थिएन। उनीहरूले त आफ्नो अधिकार मात्र मागेका थिए।

नेताहरूले त जनतालाई झुक्काए। त्यत्रो आन्दोलन भयो, तर त्यसको उपलब्धि के भयो? नेताहरूले आफ्नो राजनीतिक सिद्धान्त, विचार सबै प्रचण्डलाई लगेर बुझाएका छन्। प्रचण्डले जे भन्यो तिनले त्यही गर्छन्। सात राजनीतिक पार्टीको विश्वासले गर्दा राजा ज्ञानेन्द्र दरबार छोडेर नागार्जुनमा पुग्नुपर्‍यो। प्रचण्डले सबै पार्टीलाई घुमाएर आफ्नो स्वार्थ पूरा गरेका छन्। केही दिनअघि कांग्रेसको कार्यसमितिको बैठकमा एक जना नेताले हिन्दू राज्य चाहिन्छ भनी कुरा उठाए। त्यो कुरा उठ्ने बित्तिकै प्रचण्ड झस्किए। हिन्दू राज्यको नाम लिने बित्तिकै राजा पनि चाहिन्छ भन्ने हुन् भनी उनी तर्सिए।

त्यसबेला राजासँग वार्ता गर्दा त देशबाट राजतन्त्र हटाउने उल्लेख थिएन। न हिन्दू व्यवस्था नै हटाउने भनिएको छ। पूर्वराजा ज्ञानेन्द्रले कहिलेकाहीँ यो कुरा उठाइरहेका हुन्छन्। राजनीतिक दलहरूले धोका दिए, मैले त्यो सम्झौता सम्हालेर राखेको छु भनिरहेका हुन्छन्। देशमा लोकतन्त्र आएपछि राजनीतिक दलहरू मनमौजी भए। नाम जनताको, फाइदा नेता र तिनका कार्यकर्ताको। पहिले एउटा राजा थिए, अहिले हजारौं भएका छन्। जसका कारण जनता निराश बनेका छन्। नेताहरू व्यक्तिगत स्वार्थमा रमाउँदा पुनः राजाकै माग गर्न थालिएको छ। संघीयताको नाममा राज्यलाई आर्थिक भार पार्ने काम मात्रै भएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त पहिल्यै संघीयता हुँदैन भनेका थिए। तर, कसैले सुनेन। प्रदेश आफ्नो कार्यकर्ता पोस्ने थलो बनेको छ। हाम्रोजस्तो सानो भूभाग र अर्थतन्त्र भएको देशलाई किन संघीयता चाहियो ? गाउँगाउँमा सिंहदरबार भनिएको छ, तर काम कतैबाट हुने होइन। एउटा सानो काम लिएर पनि केन्द्र धाउनुपरेको छ। जनताले तिरेको कर खेरमात्र गइरहेको छ। अवस्था कस्तो बनिसक्यो कि राजाप्रति जनताको आस्था पुन पलाउन थालेको छ। कही कतै राजा जाँदा जनताको भीड देखिन्छ। ‘राजा आऊ, देश बचाऊ’ सम्मको नारा घन्किसकेको छ।

यो अवस्था किन आयो त ? नेताहरूको कारणले होइन ? त्यत्रो संघर्ष गरेर ल्याइएको यो व्यवस्थाबाट जनताले के पाए ? मेडिकल माफिया दुर्गा प्रसाईंले पनि राजतन्त्रको लागि आन्दोलन गरे। उनको आन्दोलनमा धेरैले साथ दिए। राजा हट्ने बेलामा अधिकांशले उनले देश छोड्ने अनुमान लगाएका थिए। तर, उनले देश छोडेनन्। बरु, नागार्जुनको जंगलमा गएर बसे, अहिले पनि बसिरहेका छन्। वर्तमान नेताहरू एक मिनेट पनि कुर्सी छोडेर बस्न सक्दैनन्। सत्ताको लागि यताउता टाँसिने काम जारी नै छ। सरकारबाहिर बस्नुपर्दा नेताहरूको सातो जान्छ। राजा त १५ वर्षदेखि दरबार बाहिर छन्। जंगलमा बसेका छन् भने उनीसँग धैर्य गर्न सक्ने शक्ति कति रहेछ, यहीबाट मूल्याङ्कन गर्दा हुन्छ। केही महिनाअघि राजाले एउटा कार्यक्रममा भने,‘मलाई दरबारबाट हटाए पनि म नेपालमै छु। देशको राजनीति मैले नजिकबाट नियालिरहेको छु।’ प्रचण्डको काम जालझेल गर्ने मात्र हो।

कांग्रेसलाई प्रचण्डले भर्‍याङ मात्र बनाएका हुन्। प्रचण्ड यहाँसम्म आउनुमा कांग्रेसको ठूलो भूमिका छ। कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केही दिनअघि बोलेको कुरा अहिले निकै चर्चित छ। उनले भने,‘जंगलीलाई हामीले यहाँसम्म ल्याऔं। पहिले गिरिजालाई र अहिले हामीलाई धोका दियौं। यसको बदला हामी लिएर छोड्छौं।’ उनले बोलेको कुरा समग्र कांग्रेसको हो। माओवादीको काम र प्रचण्डको व्यवहारबाट जनता आजित भइसकेका छन्। माओवादी सकिने देखिएको छ। प्रचण्डले सिद्धाउन खोजेका अरूलाई हो, तर आफैँ सिद्धिए। पार्टीको पनि पतन भयो। माओवादीलाई जनताले विश्वास गर्दैनन्।

न राजनीतिक पार्टीले प्रचण्डमाथि भरोसा गर्छन्। छेपारोले रंग फेरेभन्दा छिटो उनले गठबन्धन फेर्छन्। १० वर्ष जनयुद्धको नेतृत्व गरेको पार्टी यति छिटै जनताबाट नङ्गिन्छ भन्ने कुरा कसैले सोचेको पनि थिएन। माओवादी यसरी पत्तासाफ हुन्छ भन्ने परिकल्पनासमेत गरिएको थिएन। जालझेल गर्ने, अरूलाई धोका दिने, आफू सत्तामा पुग्ने तर काम केही नगर्ने। प्रचण्ड कहिले एमालेसँग मिल्छन्, कहिले कांग्रेससँग। उनले जनताका लागि होइन, आफ्नो लागि जनयुद्ध गरेका रहेछन् भन्ने त प्रस्ट भइसकेको छ। प्रचण्डमाथि जनताको धेरै अपेक्षा थियो, तर उनी त्यसमा उत्रिन सकेनन्। जनताको हितमा काम गर्नुपर्ने प्रचण्ड सधैँ आफ्नै परिवारभित्र अलमलिए। आफ्नो सन्तानलाई कसरी माथि ल्याउने ? मै उनको ध्यान केन्द्रित भयो। नैराश्य दिनहुँ बढ्दै छ। जनताले सरकारमाथि विश्वास गर्न सकेका छन्। विदेशीको अविश्वास बढिरहेको छ। देशमा केही छैन भन्नेहरूको लहर छ।

जनताले सरकारसँग केही मागेका थिएनन्। गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार यति त हो। तर, सरकारले जनतालाई आधारभूत अधिकारसमेत दिलाउन सकेन। गाउँगाउँमा सिंहदरबारको नाममा जनताले थेग्नै नसक्नेगरी ऋणको भारी बोकाइएको छ। एउटा कुखुरा पाले पनि कर तिर्नुपर्छ, अहिले। केन्द्रदेखि स्थानीय सरकारसम्म राजा छन्। वडाध्यक्ष, मेयरसमेत तलबभत्ता खान्छन्, सरकारी गाडी चढ्छन्। प्रदेशका सांसदहरूको त कुरै छोड्दिऔं। २०६२–६३ सालसम्म विदेशी ऋण थिएन। अहिले २७ खर्ब विदेशी ऋण पुगिसकेको छ। महँगी, बेरोजगारी त्यस्तै बढेको छ।सबै नेपाली खाडी छिरिरहेका छन्। यहाँ रोजगारी नहुँदा नेपाली अर्काको देशमा भेडाबाख्राझैं बेचिएका छन्। कमाउन गएका नेपाली बाकसमा फर्किन्छन्। उनीहरूले घामपानी नभनीकन खटिएर पठाएको रेमिट्यान्सले जनप्रतिनिधिहरूले तलबभत्ता खाइरहेका छन्।

जनता बाँच्नै नसक्ने अवस्थामा पुगेका छन्। जनताले यसका लागि त जनयुद्ध गरेका थिएनन्। १७ हजार नेपाली नेताहरूले खाउन् भनेर त सहिद भएका होइनन्। देश नाजुक अवस्थामा पुगिसकेको छ। छिमेकीले नेपाल लैजान्छ भनी चर्चा चल्न थालिसकेको छ। यो अवस्था किन आयो, नेताहरूले गरेर होइन ? राजाले खायो भनेर नेताहरूले हटाएको होइनन् ? खोइ के भयो त परिवर्तन ? एउटा राजा पाल्न मुस्किल पर्ने जनताको थाप्लोमा सयौं राजाको बोझ छ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ०६:५४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।