Logo

गण्डकी प्रदेश

दीपक मनाङे बने भाैतिक पूर्वाधार मन्त्री



पोखरा । दीपक मनाङे गण्डकी प्रदेशकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । उनी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा आज मन्त्री नियुक्त भएकाे उच्च स्रोतले जनाएको छ ।

मनाङेले आइतबार गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी त्यागेको घोषणा गरेका थिए । प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे पनि जिम्मेवारी थपिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखकाे कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे तीन बजे राखिएको छ ।

यसअघि भाैतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले उनीहरूलाई बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १३:५१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।