Logo

प्रमुख समाचार

गौरंगदेशदेखि गंगोत्रीसम्म डुल्दा…



भारत पिथौरागढका सर्जक किशोरचन्द्र पाटनीले उपहार स्वरूप दिनुभएको कृति ‘गोरंगदेश से गंगोत्री’ यात्रा वृत्तान्त (नियात्रा) सरसरती पढेँ। सर्जकको स्वभाव घुम्न मन पराउने र आफ्नो यात्रामा साहित्यमार्फत थुप्रै पाठकहरूलाई पनि सहभागी गराउने लाग्यो। पुस्तक पढ्दै गर्दा म आफू पनि उहाँसँगै उहाँले उल्लेख गर्नुभएका यात्राको आनन्द र कठिनाइ भोगिरहेको छु झैँ लागिरह्यो। यस अर्थमा उहाँको यो कृतिमा जीवन्त चित्रण छ।

बाल्यकालका स्मृतिहरू हजुरबुवा, बुवा, आमासँग बितेका पलहरू र गाउँघरका अग्रजहरूका अनेक किस्साहरू उनका स्मृतिका रमणीय र ज्ञान वर्द्धक पाटाहरू हुन्। सामाजिक मूल्य, मान्यताहरूका सकारात्मक पक्षहरूमा रमाउँदै बाल्यकाल बिताएका किशोरचन्द्र सर आफ्नो समाज, भोगेको समय, आफन्त र अग्रजहरूलाई औधी माया गर्छन्। सम्मान गर्छन्। भोगेको समय र देखे तथा सुनेका अनेक किस्सा र किस्सा भन्ने अग्रजहरूलाई हृदय भरी छपक्कै सम्हालेका छन्।

आफ्नो वरिपरिका विगतलाई हजुरबुवाले भोगेका, देखेका घटना, समय, बाँचेको समाज र पोस्टमेनको जिम्मेवारी बहन गर्दा पुग्नुपरेका ठाउँ र सेवाग्राहीसँगका हजुरबुवाका अनुभवसमेत श्रवण गरेर आफ्नो अनुपस्थितिको विगतको समाज, इतिहास, विकास, शैक्षिक अवस्था, परम्परा, शासन, प्रशासनको अथाह ज्ञानले भरिपूर्ण लाग्छन् किशोरचन्द्र। तीन पुस्ताको उत्तराखण्डीय जनजीवनको अनुभव सुन्दर र पठनीय छ।

सबैभन्दा उत्कृष्ट पक्ष हो पुस्तकको, परिवारका ज्येष्ठ सदस्यहरूलाई रिटायर सम्झेर वर्तमानमा उहाँहरूको भूमिका नदेख्नेहरूका लागि कति हो कति प्रेरणाप्रद छ। कुनै पनि पुस्तकले नदिने ज्ञान उनले बुबा र हजुरबुबाबाट पाएका छन्। अझ बुबाका उनी मित्र जस्ता लाग्छन्। हरेकले बुबासँग पाटनी झैँ मित्रवत् व्यवहार गर्न सक्नुपर्दछ। ज्येष्ठ सदस्यहरूको भावना र विचारको सम्मान गर्नुपर्दछ। जुनघरमा ज्येष्ठ नागरिक छन्, त्यो घर आफ्नो परिवेश र उहाँहरूले देखेका ऐतिहासिक घटनाहरूको अनमोल पुस्तक हो। हामीले पढ्न सक्नुपर्छ। त्यही ऐतिहासिक घटना र समयबाट हामीलाई लाभ नै हुन्छ। उनका बुबा, आमा र हजुरबुवा, हजुरआमा र सामाजिक जनजीवनका अग्रजहरू उनका लागि मात्र सम्पत्ति थिए। पुस्तकका रूपमा बाहिर आइसकेपछि समग्र मानव समाजको विरासत भएका छन्।

पिथौरागढ उपत्यकाको उत्तरतिर अवस्थित अग्लो डाँडामा पहाडमाथिका केही गाउँहरूको भेक संयुक्तरूपमा गौरंगदेश रहेको छ। त्यस क्षेत्रका केही गाउँहरू र उनको आफ्नो गाउँ छेडा गोरंगदेश अन्तरगत हुन्। प्राकृतिक रमणीयता; सुन्दर हरियाली, घना जंगल, विकट पहाडी भिरालाहरूमा पनि चौरहरू, अनेक देवदेवीस्थलहरू, जैविक विविधता, वर्तमान र तीन पुस्ताका सुन्दर, रोमाञ्चक, सद्भावपूर्ण जनजीवनलाई रोचक अभिव्यक्ति दिँदै गौरंगदेशदेखि गंगोत्रीसम्मको यात्राको वृत्तान्तको उद्देश्य र उपलब्धिको हृदयका तारहरू झङ्कृत हुने गरी वर्णन गरेका छन्।

चालीस वर्षअघि आफू कार्यरत रहेको हर्षिलको विद्यालय, हर्षिलका साथीहरू, हर्षिलको प्राकृतिक, सांस्कृतिक, सामाजिक र आर्थिक अवस्थाको वर्तमानमा पनि सधैंभरि सम्झिरहनु हुन्छ उनका बुवा। किशोर चन्द्र पाटनीका बुवा सेवा निवृत्त जो तीन वर्ष हर्षिलको विद्यालयमा शिक्षक भई सेवा गर्नु भएको थियो। उहाँको मानसपटलमा हर्षिलको चालीस वर्षअघिको सम्झना ताजै छ। आफ्नो पहिलो कार्यस्थल प्रतिको असीम प्रेम , मधुर सम्झना, मगमगाइ रहन्छ।

सन्दर्भ आएपछि हर्षिललाई अभिव्यक्ति दिइरहने पितासँग किशोर सहयात्री बनेर निस्किन्छन् गोरंगदेशदेखि गंगोत्रीसम्म। बुबाले चालीस वर्षपछि पुगेको हर्षिलमा पाएको खुसी गजब अनमोल लाग्छ। यो खुसीले उनको यात्रा सफल भएको देखिन्छ। यात्राको अवधिमा अग्ला पहाडहरूमा दृश्यावलोकन भएका प्राकृतिक, सांस्कृतिक, सामाजिक धरोहरहरूको वर्णन सुन्दर र चलचित्रमय लाग्दछ। यात्राको उद्देश्य धार्मिक त हो नै त्योभन्दा बढी हर्षिलका सम्झनाको, हर्षिललाई अघाउन्जेल हेर्ने घुम्ने भोक र प्यास त्योभन्दा बढी प्रतीत हुन्छ। धार्मिक दृष्टिले पवित्र गंगोत्री गोमुख को तीर्थाटनको वृत्तान्त पनि मन लोभ्याउने, श्रद्धाभावले हृदय गदगद हुन्छ। अंग्रेजहरू बेकर परिवार र विल्सनका गतिविधि, यात्राका मिठा उनका संस्मरण कुमाउनी जनजीवनका पक्ष र अन्य धेरै महत्त्वपूर्ण पक्ष यो सामान्य पाठक प्रतिक्रियामा समावेश गर्न सकेको छैन।
सर्जकको लेखन यात्रा निरन्तरताको हार्दिक शुभकामना। लेखकको बदलिँदो परिवेशमा उत्तराखण्डले बिर्सँदै जान लागेका सुन्दर लोकजीवनप्रतिको चिन्ता छ पुस्तकमा।

पेज- 140
मूल्य- 150/- भारु

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार ११:४३   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।