काठमाडौं- आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि अन्य दलले उम्मेदवारको टुंगो लगाइसक्दा नेपाली कांग्रेस भने अझैँ आन्तरिक किचलोमा फसेको छ। यही चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिसक्नु पर्नेमा २१ गते हुँदा पनि कांग्रेसले उम्मेद्वार टुंग्याउन सकेको छैन।
प्रतिस्पर्धी दलका उमेदवारहरू घरदैलो अभियानमा गइरहँदा कांग्रेसलाई भने उम्मेदवार टुंग्याउनै सकस देखिएको हो। उमेदवार चयनलाई लिएर पार्टीमा विवाद देखिएको छ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा नेताहरूबीच विवाद भएको थियो। मंगलबार उम्मेदवारको टुंगो लगाइने भनिए पनि पार्टीको संस्थापन पक्ष र संस्थापन इतर पक्षले आआफ्नै दाबी राखेपछि सहमति जुट्न सकेन। नेताहरू शेखर कोइराला, शशांक कोइरालासहितले बैठक बहिस्कार गरेपछि अर्को बैठक बुधबारका लागि आह्वान गरिएको छ।
पार्टी सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले इलाम–२ मा डम्बर खड्कालाई उमेदवार बनाउने प्रस्ताव गरेकोमा संस्थापन इत्तर पक्षले उनीहरूको प्रस्तावमाथि असन्तुष्टि जनाएको थियो।
संस्थापन इतर समूहका नेताहरू कोइराला, महामन्त्री गगन थापा, समहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे भेषराज आचार्यलाई टिकट दिनुपर्ने बताएपछि विवाद भऐएको हो। संगठन र कार्यकर्तामा आचार्यको पकड बलियो रहेको तर्क उनीहरूको छ।
महामन्त्री थापाले सभापति र उपसभापतिसँग छलफल गरे पनि उनीहरूले अडान नछाडेपछि थापाले शेखरलाई देउवा र खड्कासँग संवाद गर्न आग्रह गरेका थिए।
त्यसपछि कोइरालाले स्थानीयको सुझाव छाडेर निकटताका आधारमा निर्णय लिए चुनावी परिणामको जिम्मेवारी लिनुपर्ने चुनौती दिएका थिए। स्थानीयको चाहनालाई बेवास्ता गरेर लिइने निर्णयले पार्टीलाई दुर्घटनामा पुर्याउने चेतावनी उनको थियो।
इलामको सवालमा सबैले भेषराजले जित्छन् भन्दा तपाईं किन बुझ्नुहुन्न? भन्दै शेखर देउवासँग कड्किएको एक नेताले बताएका छन्। भेषराजलाई टिकट दिएर पराजित भएमा त्यसको जिम्मा पार्टी सभापतिले लिनुपर्ने शेखरले बताएका थिए।
शेखरको भनाइमा पूर्वमहामन्त्री शशांक कोइरालाले पनि समर्थन जनाएका थिए। देउवाले भने निरन्तर खड्का गएको निर्वाचनमा ११४ मतले मात्र पराजित भएकाले उनी बलियो रहेको तर्क गरेका थिए। ०७९ को निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी खड्काले २९ हजार ९०६ मत ल्याएका थिए।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले मंगलबार उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुंगो लगाउन नसकिएको बताए।
मंगलबार कुनै सहमति हुन नसकेपछि बुधबारका लागि बैठक बोलाइएको छ। बुधबार दिउँसो २ बजे संसदीय बोर्डको र अपराह्न ४ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको विश्वकर्माले जानकारी दिए।
प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।




















प्रतिक्रिया