Logo

अर्थ

८ महिनामा सरकारको कुल खर्च आठ खर्ब एक अर्ब, कुन शिर्षकमा कति ?



काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल खर्च ८ खर्ब एक अर्ब ५८ करोड रुपैयाँ गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा सरकारले आठ खर्ब १ अर्ब ५८ करोड रुपैयाँ कुल खर्च भएको हो ।

सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४ प्रतिशतले वृद्धि भएकोमा यो आर्थिक वर्षमा २.९ प्रतिशतले मात्र बढेको छ । समीक्षा अवधिमा चालु खर्च ५ खर्ब ८२ अर्ब ११ करोड, पुँजीगत खर्च ८१ अर्ब २१ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ३८ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ६ खर्ब ३९ अर्ब ५ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा १४.९ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.७ प्रतिशतले बढेको छ ।

यस अन्तर्गत कर राजस्व ५ अर्ब ७८ अर्ब ६७ करोड रुपैयाँ र गैर कर राजस्व ६० अर्ब ३७ करोड रुपैयाँ परिचालन भएको छ ।

सरकारको नगद मौज्दात २०८० फागुन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। संघदेखि प्रदेश र स्थानीय सरकारले खर्च गर्न नसकेको असर सरकारी खातामा रकम थुप्रिन पुगेको देखिएको हो।

समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च ६४ अर्ब १४ करोड रुपैयाँ र स्रोत परिचालन १ खर्ब १६ अर्ब ३५ करोड रहेको रुपैयाँ छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ८७ अर्ब २९ करोड रुपैयाँ र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २९ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार  ५ : ०७ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।