काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचन हुने दुई क्षेत्रका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।
इलाम-२ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् । त्यस्तै बझाङ प्रदेशसभाको लागि एनपी साउद तोकिएका छन् ।
महामन्त्री शर्मा यसअघि उम्मेदवार चयनको सन्दर्भमा कार्यकर्ताको मत बुझ्न इलाममा खटिएका थिए । उनी छिमेकी जिल्ला झापा-१ बाट निर्वाचित हुन् । बझाङमा खटाइएका साउद कन्चनपुरबाट निर्वाचित हुन् ।
१५ वैशाखमा हुने उपनिर्वाचनका लागि कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का जिल्ला सभापति समेत हुन् ।
बझाङ प्रदेशसभा (१) मा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।
शनिबार भएको उम्मेदवारी मनोनयन दर्तामा इलाम-२ मा ८ स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दर्ता गरेका छन् । बझाङको प्रदेशसभामा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।




















प्रतिक्रिया