सल्यान । कांग्रेसका सल्यान जिल्ला सभापति केशरबहादुर विष्टमाथि भएको आक्रमणको नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गरी निन्दा गरेको छ ।
कांग्रेसले विज्ञप्तिमार्फत घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
सभापति केशबहादुर विष्टमाथि चैत २९ गते राति सल्यानको वनगाड कुपिन्डे नगरपालिकाको बालुवासंग्रहीको एक होटलमा आक्रमण भएको थियो ।
प्रहरीले कुटपिट गर्ने पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरिबहादुर वलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । वलीले विष्टको हात टोक्नुका साथै वियरको बोतलले टाउकोमा प्रहार गरेका थिए ।
मेलमिलाप गर्नेगरी घटनालाई गुपचुप राखिए पनि सहमति हुन नसकेपछि विष्टले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा पूर्वाधार विकास कार्यालयका प्रमुख वलीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले जनाएका छन् ।
चैत २९ गते सल्यान प्रदेश सभा (ख) का सांसद सुरेश अधिकारीसहित सभापति विष्ट सुर्खेतबाट सल्यानतर्फ जाँदै गर्दा राति ९ बजे बालुवासंग्रहीको कृष्ण होटेलमा पुगेका थिए ।
पूर्वाधार विकास कार्यालयका प्रमुख वली, खानेपानी सिँचाई कार्यालय सल्यानका कार्यालय प्रमुख ज्वाला शाहीलगायतको समूह पनि त्यही होटलमा खानपिन गर्दै बसिरहेको थियो । दुवैबीच विवाद उत्पन्न भएपछि वलीले विष्टमाथि आक्रमण गरेका थिए ।
विष्टले पिकनिक गएर आएको कर्मचारीको टोलीले विवाद झिकेर आफूमाथि आक्रमण गरेको बताएका छन् भने वलीले आफ्नो प्रतिरक्षाका लागि विष्टमाथि आक्रमण गरेको दाबी गरेका छन् ।
विष्टको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।




















प्रतिक्रिया