Logo

प्रमुख समाचार

सुदूरपश्चिम मुख्यमन्त्री : सोडारीको नाममा एमालेकाे असन्तुष्टि



काठमाडाैं । सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भए पनि फेरि बखेडा सुरु भएको छ । समाजवादीले मुख्यमन्त्रीमा अघि सारेका संसदीय दलका नेता दीर्घ सोडारीको नाममा एमालेले असन्तुष्टि जनाएपछि गठबन्धनबाट बुधबार मुख्यमन्त्रीमा दाबी पेस हुन सकेन ।

केन्द्रमा गठबन्धनका शीर्ष नेताबीच मंगलबार सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । सो सहमतिपछि संसदीय दलको बैठकले सोडारीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । उनी बुधबार बिहान दाबी पेस गर्ने तयारीमा थिए । तर, सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू सहमत नभएपछि दाबी परेन ।

मुख्यमन्त्रीमा दाबी पेस गर्न गठबन्धनका दलहरू दिनभर एमालेलाई पर्खेर बसेका थिए । तर, पार्टी केन्द्रबाट सोडारीलाई समर्थन नगर्न संकेत पाएपछि प्रदेशमा एमाले नेताहरू बुधबार गठबन्धनको छलफलमै गएनन् । पार्टी केन्द्रको निर्देशन नआएको भन्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल सोडारीलाई मुख्यमन्त्री बनाउने सहमतिपत्र दिन तयार भएनन् । सोडारीको नामप्रति पार्टी केन्द्रीय नेतृत्वले नै असहमति जनाएको एमाले नेताहरूले बताएका छन् । स्रोतका अनुसार विगतमा उनी मन्त्री हुँदा विवादित रहेको भन्दै एमालेले नेकपा एसबाट सोडारीबाहेक अन्य जुनसुकै सांसदलाई अघि सार्दा स्वीकार गर्ने बताएको छ । सोडारी र एमाले नेताहरूबीच पार्टी विभाजनका क्रममा तिक्त सम्बन्ध थियो ।

‘सोडारीको नामप्रति पार्टी केन्द्रबाटै असहमति देखिएपछि यहाँ नेताहरूले समर्थन गर्न तयार नभएका हुन्,’ एमालेका एक सांसदले भने, ‘यहाँ विकल्प खोज्नुपर्ने कुरा केन्द्रीय तहमा पनि भएको बुझिएको छ ।’ एमाले प्रदेश सांसद धर्मराज पाठकले यसबारे केन्द्रमै शीर्ष नेताहरूबीच छलफल भइरहेको बताए । ‘केन्द्रमा शीर्ष तहमा यस विषय (सोडारीको नाममा) मा असहमति रहेको भन्ने आएको छ,’ उनले भने, ‘केन्द्रमै केही सहमति बन्ला ।’

प्रकाशित मिति : बैशाख ६, २०८१ बिहीबार  ९ : ५५ बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।