कैलाली । सत्ता गठबन्धनभित्र किचलो र विवादकाबीच मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले विश्वासको मत पाउने सम्भावना क्षीण हुँदै गएको छ । सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्दादेखि चिढिएको एमाले र नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक तिक्तकाका कारण एक महिनामै सोडारीको बहिर्गमन हुने सम्भावना बढेको हो ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तत्काल नै सरकार विस्तार गरेर विश्वासको मत लिने प्रक्रियामा जाने योजना बनाएका थिए । तर, एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेपछि मुख्यमन्त्री सोडारीलाई पहिलो गाँसमै ढुङ्गा लागेको हो । एमालेले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।
बझाङ उपनिर्वाचनपछि यस विषयमा एमालेले ठोस निर्णय गर्ने जनाएको छ । तर, बझाङको नतिजाले पनि मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निचोड आउने एमाले नेताहरूको दाबी छ । बझाङमा नेकपा एकीकृत समाजवादीले एमाले हराउन भूमिका खेलेको एमाले नेताहरूबीच चर्चा छ । तर, उनीहरु एमाले उम्मेदवार जित्नेमा विश्वस्त छन् ।
पराजित भएमा नेकपा एकीकृत समाजवादीकै कारणले त्यो अवस्था सृजना हुन सक्ने उनीहरुको बुझाइ छ । त्यस्तो अवस्थामा विश्वासको मत दिन नहुने मत पनि बलियो रुपमा आउने छ । ‘एमाले उम्मेदवारलाई हराउन नेकपा एकीकृत समाजवादी लाग्ने अनि नेकपा एकीकृत समाजवादीको मुख्यमन्त्रीलाई एमालेले जोगाउने भन्ने हुँदैन’ बझाङका एक नेताले भने, ‘बझाङमा हामी हारेपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन हुँदैन भन्नेमा लाग्छौँ । ’
एमाले संसदीय दलका नेता राजेन्द्र रावलले पनि बझाङ उपनिर्वाचनपछि मात्रै यस विषयमा थप छलफल अगाडि बढ्ने बताए । उनले बझाङ एमाले उम्मेदवार जित्ने दाबी गर्दै त्यस्तो नआए पार्टी केन्द्रसँग पनि यस विषयमा गम्भीर छलफल हुने जनाए ।
‘हामी अहिले सरकारमा विषयमा कुनै छलफल गरेका छैनौँ । बझाङको परिणाम पनि मात्रै यस विषयमा छलफल अगाडि बढ्छ’ उनले भने ‘हामी जित्छौँ तर परिणाम त्यो अनुसार आएन भने केन्द्रीय नेतृत्वसँग गम्भीर छलफल गर्छौँ ।’ एमालेभित्र मात्र होइन नागरिक उन्मुक्ति पार्टी भित्र पनि सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा बहुमत सांसदहरू विपक्षमा उभिने संकेत देखिएको छ ।





















प्रतिक्रिया