Logo

प्रदेश

सुदूरपश्चिममा दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेशसभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

नेता रावलले शनिबार राति अध्यक्ष ओलीसँग करिब २ घण्टा गरेको भेटवार्तामा ओलीले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष ओलीसँग रावलसँगै प्रमुख सचेतक सुरेन्द्र पालले बालकोटमा भेटवार्ता गरेका थिए ।  ‘हामीले विश्वासको मत दिने भनेकै छौँ । तर हामीसँग छलफल नै नगरी उहाँ (मुख्यमन्त्री) विश्वासको मत लिन हतारिनुभएको छ’, रावलले भने, ‘अहिले हामी हतारिने पक्षमा छैनौँ ।’

रावलले बझाङ उपनिर्वाचनबाट निर्वाचित दमनबहादुर भण्डारीले बुवाको किरियाकर्म सकेर शपथ ग्रहण गरेपछि विश्वासका सम्बन्धमा निर्णय लिइने उल्लेख गरे ।

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले सकारात्मक नभएपछि शनिबारलाई समय सारिएको थियो । तर शनिबार पनि प्रदेश सभा बैठक बस्न नसकेर अनिश्चित कालका लागि स्थगित भयो । शनिबार नै नेता रावल र पाल पनि अध्यक्ष ओली भेट्न काठमाडौँ आएका थिए ।

६ वैशाख एमालेसहित गठबन्धनमा आवद्व दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले २१ वैशाखमै विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक अनिश्चितकाललाई स्थगित गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १०:५७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।