Logo

समाचार

लुतो कस्तो रोग हो ? यसबाट कसरी बच्ने ?



काठमाडाैं । चिलाउने रोग `लुतो´ भनी चिनिने एउटा यस्तो रोग जुन सररफाइमा ध्यान नदिँदा र संक्रमित मान्छेको सम्पर्कमा आउँदा लाग्छ ।
आज पनि गाउँधरतिर लुतो लागेमा तितेपाती लगाउने चलन छ । तर यो रोगबाट बच्नको लागि सरसफाइमा ध्यान र यसको उपचारको लागि अस्पताल जान आवश्यक छ ।

आज हामी लुतोबारे जानकारी दिँदैछौँ।

लुतो कस्तो रोग हो ?  यो कुन उमेर समूहका मानिसहरूमा लाग्ने हुन्छ त ?

लुतो सबै उमेर समूहका मानिसलाई हुन सक्ने एक सरुवा रोग हो । यो ह्युमन प्यारासाइड सार्कोपटेस स्काबी नामक किटाणुको संक्रमणले गर्दा लाग्छ ।

यो एक जनाबाट अर्को व्यक्तिमा सजिलै सर्छ। यो रोग सरसफाइमा उचित ध्यान नदिँदा आउने गर्छ । यो रोग सरुवा भएको हुँदा लुतो लागेको व्यक्तिको सम्पर्कमा रहेमा, बच्चालाई लुतो भएमा आमालाई पनि सर्छ भने संक्रमितको लुगाहरू लगाएमा अथवा लुतो लागेको व्यक्तिसँग शारीरिक सम्पर्क राखेमा यो रोग सर्ने गर्छ ।

यसका लक्षणहरू के के हुन् ?

लुतो लाग्ने बित्तिकै यसकाे लक्षण देखिँदैन । यो रोग लागेको दुई देखि ६ हप्ताभित्रमा यसका लक्षण देखिने गर्छ । यो रोगको प्रमुख लक्षण भनेकाे चिलाउनु हाे । याे राेग लागेमा शरीरका विभिन्न भागमा स-साना राताराता बिबिरा जस्ता घाउहरु देखिन्छन् भने पानी भरिएको जस्तो सानासाना फोकाहरू आउँछन् ।

यस्ता घाउ धेरै कन्याएमा पाक्ने सम्भावना हुन्छ । खासगरी रातिको समयमा शरीर निकै चिलाउने हुन्छ । विशेष गरी औँलाको बिच भाग, काखी, नाइटो वरिपरी, तल्लो पेट र खुट्टाको भित्री भागहरुमा याे राेग लागेमा चिलाउने गर्छ । महिलालाई स्तनमा चिलाउने र पुरुषको अण्डकोषमा चिलाउने हुन्छ । बच्चाहरूमा यो रोग लाग्यो भने भिन्न खालका लक्षणहरू देखिने गर्छन्।

बच्चाहरूमा उनीहरूको हात खुट्टा चिलाउने गर्छ । वृद्धहरूलाई यो रोग लाग्यो भने ढाडमा मसिनो दाना पनि आउने गर्छ । रोगसँग लडने क्षमता कम भएका व्यक्तिहरु र एचआइभी, क्यान्सर राेगी र वृद्धहरुमा यो रोग लाग्यो भने फरक खालको औषधी उपचार गर्नुपर्ने हुन्छ ।

कसरी बच्ने ?

यसबाट बच्न लुतो भएका मानिसहररूको सम्पर्कमा आउनु हुँदैन । यदि परिवारको कुनै एक सदस्यलाई यो रोग लागेको छ भने सबैलाई यो रोग सर्ने सम्भावना रहन्छ । लागेको थाहा भएमा पुरै परिवारको उपचार एकै पटक गर्नुपर्ने हुन्छ र सबै सदस्यहरुले प्रयोग गर्ने सामानहरू जस्तै: तावल र साबुनहरुको प्रयोग छुट्टै हुनुपर्छ । एक आपसमा लुगाहरू साटेर लगाउनु हुँदैन । यो रोगबाट बच्न सरसफाइ सबैभन्दा महत्त्वपूर्ण पाटो हो । यो वाटर वास डिजिज भएको हुँदा दिनहुँ नुहाउने र सफा लुगाहरुको प्रयोग गर्ने हाे भने यो रोगबाट बच्न सकिन्छ । छालारोग विशेषज्ञको सल्लाह अनुरुप औषधिको प्रयोग गर्नुपर्छ । अत्याधिक चिलाएमा नचिलाउने औषधिको सेवन गर्नुपर्छ ।

–याे सामाग्री छाला राेग विशेषज्ञ डा. एलिसा भट्टराईसँग गरिएकाे कुराकानीमा तयार पारिएकाे हाे ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १४:३१   :  बजे

303
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।