काठमाडौं । काठमाडौंकी २८ वर्षीय श्रेया गिरी फोर्ब्स फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एसियाकै सबैभन्दा प्रभावशाली युवा व्यक्तित्वको सूचीमा परेकी छन् । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् ।
मानसिक स्वास्थ्यका लागि समर्पित डिजिटल प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’की संस्थापक गिरीको यो उपलब्धितर्फको यात्रा कोभिड–१९ महामारीबाट उत्पन्न चुनौतीहरूको बीचमा सुरु भयो । लन्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा उनले आफ्नै मानसिक स्वास्थ्य समस्या व्यहोरिन् ।
तर कोभिडको बेला अनलाइनबाट मानसिक परामर्श लिने कुनै सुविधा थिएन । अध्ययन सकेर नेपाल फर्किएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेकी हुन् । गिरीले सुरु गरेको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल रूपमा मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आएको छ ।
ह्याप्पी माइन्ड्सले अनलाइन र व्यक्तिगत रूपमा मानसिक स्वास्थ्य परामर्श सेवाहरू प्रदान गर्ने एक व्यापक प्लेटफर्मको रूपमा सेवा गर्दछ ।
सामूहिक कार्यशाला र व्यक्तिगत परामर्श सत्रहरूको मिश्रणमार्फत गिरीको संस्थाले आवश्यकतामा परेका व्यक्तिहरूलाई तिनीहरूको भौगोलिक स्थानको पर्वाह नगरी सहयोग प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
ह्याप्पी माइन्ड्सको पहुँच नेपालभन्दा बाहिर पनि फैलिएको छ, जसले विश्वको जुनसुकै ठाउँमा बसोबास गर्ने नेपालीहरूको मानसिक स्वास्थ्य आवश्यकताहरू पुरा गर्दछ ।
प्रतिक्रिया