Logo

प्रमुख समाचार

चुनावअघि गठबन्धन गर्दा कांग्रेसको मत घट्यो : मिनेन्द्र रिजाल



रूपन्देही ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सबै ठाउँमा चुनाव नलड्दा कांग्रेसको मत घटेको जनाएका छन् । उनले हरेक वडामा मात्र नभइ टोलमा भएको कांग्रेस विभिन्न ठाउँमा चुनाव नलडे पार्टी निर्माण हुन नसक्ने बताए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा। रिजालले यस्तो बताएका हुन् । उनले भने, ‘कांग्रेस हिजो एक्लै उभिदा पार्टीको बढी मत र धेरै सीट रहेको थियो । ’

उनले केन्द्रीय सत्ता चाहिन्छ भनेर ६ हजार ७ सय ४३ वडामध्ये २ हजार ७ सय वडामा कांग्रेस नलड्ने हो भने पार्टी निर्माण र मत कसरी बढ्ने भन्दै प्रश्न गरे । उनले आफूहरुलाई सन्देश दिन र सचेत गराउन जनताले नयाँ पार्टीलाई मत दिएकाले अब सचेत हुनुपर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका रिजालले आफू माथि फर्केर गाली गर्ने पक्षमा नरहेको बताए । उनले भने, ‘मसँग गाली गर्ने आधार छ । तर, गाली गरेर कांग्रेस बन्दैन । चुनावअघि गठबन्धन गर्दा कांग्रेसको मत घटेको उनले प्रष्ट पारे । कांग्रेसकै नेतृत्वमा मुलुकमा धेरै परिवर्तन भएको उनको भनाइ थियो ।

नेपाल दुई ठूला देश भारत र चीनबीच रहे पनि अपेक्षाकृत फाइदा लिन नसकेको उनले बताए । त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सदस्य राजीव विक्रम शाहले लोकतन्त्रमा विश्वास गर्ने व्यक्तिहरु व्यक्तिको पछाडि नभइ सिस्टम र अनुशासनका पछि लाग्ने बताए । उनले आफूहरु देश निर्माणमा लागेको दावी गरे ।

कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको भन्दै विमानस्थल सञ्चालन हुनुपर्ने माग गरे ।

लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले देशलाई निकास दिने पार्टी कांग्रेस नै भएको दावी गरे ।संविधानसभा सदस्य जन्नतुन निशाले कांग्रेस बिना देश चल्न नसक्ने बताइन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०८१ शुक्रबार  १० : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।