Logo

प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री सिंहसहित ९ मन्त्रीले लिए शपथ



जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीबाट नियुक्त भएका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सपथ गराएकी हुन् ।

जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्रीसँगै ९ जना मन्त्रीले पनि शपथ लिएका छन् ।

नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पुर्वाधार विकास, राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति, शत्रुधन प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका हुन् ।

एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमी व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली उर्जा सिँचाई तथा खानेपानी मन्त्री नियुक्त भएकी छन् ।

नेपाल संघीय समाजवादी पार्टीकी एकल सांसद रहेकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन् ।

जनमत पार्टीकी रञ्जु मण्डल खंग विना विभागीय राज्यमन्त्री नियक्त भएकी हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख भण्डारी र राज्य मन्त्रीहरुलाई मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार १३:३३   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।